हिमाल दैनिक
चितवन जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवारी दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ । तीमध्ये १० जना कात्तिक महिनामा मात्रै भएका हुन् । कात्तिकमा दशैँ र मङ्सिर १ गते तिहार परेको थियो । साउनमा आठ, भदौमा तीन र असोजमा नौ जनाको मृत्यु भएको छ । चार महिनाको अवधिमा दुर्घटनाबाट ८६ गम्भीर र ११२ जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा पुरूष २५, महिला दुई, बालक एक र बालिका दुई रहेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार पहिलो चौमासिकमा १२१ वटा दुर्घटना भएका थिए । तीमध्ये १८३ सवारी संलग्न छन् । गत आव २०७६÷७७ को पहिलो चौमासिकमा सवारी दुर्घटनाबाट ४५ जनाको मृत्यु भएको थियो । सवारी दुर्घटनाको मुख्य कारण तीव्रगति रहेको भट्टले बताए उनका अनुसार चालकको लापरवाही, उछिन्दा (ओभरटेक), यात्रुको गल्ती, खराब सडक र यान्त्रिक गड्बडीका कारण दुर्घटना हुने गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update