नेपाली काँग्रेस कास्कीले पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत पोखरामा प्रदर्शन गर्ने भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि उनको गृह जिल्ला तनहुँमा सरकारको निर्देशनमा सार्वजनिक कार्यक्रम गर्न रोक लगाई धरपकड गरिएपछि आक्रोसित बनेको कांग्रेसले मंसिर २९ गतेको देशव्यापी प्रदर्शन गर्ने जानेको थियो । उक्त कार्यक्रम अन्तर्गत कास्कीमा पनि कास्की कांग्रेसले प्रदर्शनका लागि तयारी शुरु गरेको छ ।
आइतबार नेपाली काँग्रेस कास्कीका पदाधिकारी, क्षेत्रीय सभापति, पोखरा नगर पदाधिकारी, प्रदेश सभापति र गाउँपालिका सभापतिको संयुक्त बैठकले केन्द्रको निर्देशन अनुरोप नै प्रदर्शनको तयारीमा जुट्ने निर्णय गरेको हो ।
मंसिर २९ गते कास्कीमा कांग्रेसले पोखराको वीपी चोकबाट प्रदर्शन शुरु गर्दै महेन्द्रपुल, नयाँ बजार हुँदै पृथ्वीचोक पुगेर कोणसभा गर्ने निर्णय गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
कांग्रेसले देशमा व्याप्त भ्रष्टाचार, कुशासन, कोरोना नियन्त्रणमा सरकारी असफलतासँगै सरकारले अपनाएको निरंकुश चरित्र, विभेदकारी र दमन नीति विरुद्ध मंसिर २९ गते देशव्यापी विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो । उक्त दिन पार्टीले ७७ जिल्ला सदरमुकाममा पार्टीले सरकार विरोधी कार्यक्रम गर्ने छ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको बैठकले पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीहरुलाई प्रदर्शनमा सहभागी आवाहन गरेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय