हिमाल दैनिक
नेपाली कांग्रेसले मंसिर २९ गते देशभरका ७७ वटै जिल्लामा सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई सफल बनाउन नेता तथा कार्यकर्तालाई सडकमा आउन अपिल गरेको छ । मंसिर २९ गते सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल गर्न बिहिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेसको पदाधिकारी बैठकले प्रदर्शनलाई सफल बनाउन अपिल गरेको हो । बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनमा सरकारलाई दबाब दिन चाहाने आफ्ना सम्पूर्ण शुभचिन्तक,नेता कार्यकतालाई सडकमा आउन अपिल गर्ने निर्णय गरिएको जानकारी दिए । कोरोना महामारीमा पनि सरकार सत्ताको द्वन्द्वमा नै कन्द्रित रहेको र वर्तमान सरकार गठन भएपछि झनै भ्रष्टाचार बढ्दै गएको भन्दै उहाँले सरकारकाविरुद्ध सडकमा उत्रन आह्वान गरे । त्यस्तै प्रवक्ता शर्माले मोरङमा भएको शिक्षक हत्याको विषयलाई कांग्रेसले गम्भिरतापूर्वक लिएको भन्दै दोषीलाई कारबाहीको माग गरे । व्यक्ति हत्याको राजनीतिलाई त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समुहलाई आग्रह गर्ने निर्णय गरेको उनले जानकारी दिए । त्यस्तै बैठकमा पार्टीको क्रियाशील सदस्यता वितरणका विषयमा रहेका विवादहरु समाधान गर्ने विषयमा पनि छलफल भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । बैठकमा जिल्लाहरूमा हुने प्रदर्शनमा केन्द्रीय सदस्यहरू परिचालन गर्न सकिने विषयमा छलफल भएको थियो। गत मंसिर १७ गते तनहुँमा पुल उद्घाटनको विषयमा विवाद हुँदा बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रण गरेपछि सरकारविरुद्ध कांग्रेस आक्रमक भएको हो । पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न अवरोध गरेको भन्दै कांग्रेसले २९ गते देशैभरि सरकारविरुद्ध प्रदर्शन गर्न लागेको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update