नेपाल विद्यार्थी सङ्घले सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यारालाई तत्काल खोजी गरी कारवाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठका हत्यारालाई तत्काल खोजी गरी कडा कारवाही गर्न माग गरेका हुन् । “व्यक्ति हत्या क्रुर र अमानवीय अपराध हो, राजनीतिक वा अन्य आवरणमा यसलाई ढाकछोप गर्न मिल्दैन”, उनले भने।
नेविसङ्घले नेकपा माओवादी (विप्लब समूह)लाई हिंसात्मक राजनीतिको बाटो परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत आग्रह गरेको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले शिक्षक र विद्यार्थीको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरे । उनले सबै राजनीतिक दलले शिक्षा क्षेत्र, शान्ति क्षेत्र भन्ने कुरालाई मनन गर्न र त्यसको सम्मान गर्नुपर्ने बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय