नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका काम कारबाही विरुद्ध सोमबार हुन लागेको देशव्यापी विरोध प्रदर्शन जनताको वितृष्णालाई सम्बोधन गर्ने प्रक्रियाको सांकेतिक शुरुवात भएको बताएका छन्।
प्रमुख प्रतिपक्षी दल कांग्रेसको घोषणामा भोलि ७७ जिल्ला सदरमुकाममा हुन लागेको विरोध प्रदर्शनको पूर्वसन्ध्यामा आइतबार सार्वजनिक अपिल गर्दै देउवाले उक्त प्रदर्शनमा पार्टी नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकदेखि लोकतन्त्रवादी आम जनतालाई उत्साह र एकताका साथ भौतिक दूरी कायम गर्दै शान्तिपूर्ण सहभागिता जनाउन आग्रह गरेका हुन्।
सरकारको अकर्मण्यता र असफलताका बाबजूद प्रमुख प्रतिपक्षीको भूमिका सदन र सडकमा प्रभावकारी हुन नसकेको भन्दै पार्र्टी नेतृत्वको चौतर्फी आलोचना भइरहेका बेला सभापति देउवाले त्यसलाई प्रमुख प्रतिपक्षीको सालिनता र जिम्मेवारीपूर्ण भूमिका भएको बताउँदै यसलाई सरकारले कमजोरीका रुपमा बुझ्ने धृष्टता गरेको आरोप लगाएका छन्।
देउवाले अपिलमा भनेका छन्, ‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आयो तर, वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता ग¥यो भने, अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो।’
पछिल्लो समय सडकमा सरकारसँगै व्यवस्था विरुद्ध सुरु भएको प्रदर्शन र नारावाजीप्रति लक्षित गर्दै देउवाले सरकारको गलत प्रवृत्तिको परिणाम स्वरुप जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको दाबी पनि गरेका छन्।
‘सरकारप्रतिको वितृष्णा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो। नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो। अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर, शसक्त ढंगले अघि बढ्नुछ। त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन,’ देउवाले अपिलमा भनेका छन्।
उनले प्रदर्शनको तयारीमा जुटेका पार्टीका सबै तहका नेता, कार्यकर्तालाई थप जागरुकता र एकताकासाथ प्रदर्शनलाई भब्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन पनि अपिल गरेका छन्।
साथै देशभर कोरोना महामारीको त्रासदीबाट भयभित अवस्थामा पनि देउवाले सबैलाई प्रदर्शनमा भौतिक दूरी कायम राख्दै मास्कको प्रयोग गर्न, गराउन र यसका लागि प्रभावकारी स्वयंसेवामा खटिन तरुण दलका सदस्यहरुलाई निर्देशन दिएका छन्।
जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ? भन्ने प्रश्न उठाउँदै देउवाले एकातिर राज्यका सबै शक्ति प्रधानमन्त्री कार्यालयमा थुपार्ने र अर्कोतर्फ जनविरोधी अध्यादेश मार्फत शासन सञ्चालनमा अग्रसर भएको आरोप प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाएका छन्।
उनले भनेका छन्, ‘शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु (अध्यादेश)मार्फत अघि बढ्न खोज्ने, अधिनायकवादी आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ? महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्रजिम्मेवारपूर्ण जवाफ के हुनसक्छ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं बिद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसंग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ?’
साथै उनले हालै तनहुँको एक कार्यक्रममा पार्टी नेता रामचन्द्र पौडलप्रति राज्यबाट भएको दुव्र्यवहारदेखि देशका कैँयन भागमा भएका उत्पीडन, दमन र विभेदका घटनाप्रति हरेक नेपाली गम्भीर हुन जरुरी भएको बताएका छन्।
भ्रष्टाचारमा शून्य सहनशीलताको नारा दिँदै आएको सरकार र त्यसको नेतृत्वमाथि भ्रष्टाचार सम्बन्धि अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनले नेपाललाई एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रूपमा चित्रित गरेर नेपालीलाई नै लज्जित तुल्याएको देउवाले बताएका छन्।
कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नहुंदा सयौंको मृत्यु भएको बताउँदै देउवाले हरेक नेपालीले मृत्युको सन्त्रास भोग्नु परेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।
कोरोनाकालिन नीति, दृष्टिकोण र ठोस कार्यक्रम नहुंदा मुलुकको अर्थतन्त्र झनै कमजोर बन्न पुगेको र चौतर्फी संकटबाट मुलुकलाई निकासको मार्गमा लग्न गम्भीर भएर कार्य गर्नुपर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएको भनि देउवाले रोष प्रकट गरेका छन्।
‘यस्तो परिदृश्यमा जनतामा प्रश्न, आक्रोश र वितृष्णा बढ्नु विल्कुलै स्वभाविक छ,’ उनले भनेका छन्।
‘कोरोनाका कारण उपचार नपाएर आफन्तको मृत्यु भोगेको परिवार। बढ्दो महिला हिंसा र बलात्कारका घटनाले आक्रान्त भएको समाज। खेतिको बेला मल नपाएर छट्पटिएको किसान। लक डाउनका बेला भोकका कारण सयौं किलोमीटर पैदल हिंडेर गाउँ फर्किएको श्रमीक। व्यापार ठप्प हुँदापनि राहत पुग्ने ढंगले कर छुट नपाएका, टाट पल्टिएका र आर्थिक चुनौती व्यहोरिरहेका साना ब्यवसायीदेखि ठुला उधोगीसम्म। रोजगारी गुमाएको अनि रोजगारी पाउने सुदूर संभावना नदेखिरहेको युवा। शिक्षक, कर्मचारी, अपांगता भएका नागरिक, एकल महिलादेखि बुद्धिजिवीसम्म हरेकले यो घडीमा पीडा भोगिरहेका छन्, प्रश्न बोकिरहेका छन् र आक्रोश पोखिरहेका छन्,’ उनले भनेका छन्।
यी सबैको पिडा, भावना र आवाजलाई गहिरो आत्मसात गर्न सरकार सम्पूर्ण रुपले असफल भएको भएको बताउँदै उलने नेपाली जनताको हरेक क्षेत्र, बर्ग एवं समुदायको पीडा र भावनालाई अब कांग्रेसले अझ प्रखर ढंगले मुखरित र नेतृत्व गर्ने प्रतिबद्धता देउवाले व्यक्त गरेका छन्।
मुलुकलाई हरेक चुनौतीको घडिमा निकास र नेतृत्व दिएको दल नेपाली कांग्रेस नै भएको दाबी गर्दैै देउवाले आज प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण ब्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा कांग्रेस गम्भीर भएको बताएका छन्।
साथैे उनले भोलिको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत पनि बताएका छन्।
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय