हिमाल दैनिक
कांग्रेसले शीतल निवास र सिंहदरबारतिर हेर्न होइन, पर्‍यो भने घेर्न तयार छः गगन थापा
Gagan in Dhangadhi1
नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले भ्रष्टाचारी खोज्न अन्त कही नगएर बालुवाटार र सिंहदरबार पुगे पुग्ने बताएका छन्। कांग्रेसले आज देशभरी आयोजना गरेको विरोध कार्यक्रम अन्तरगत कैलालीको धनगढी पुगेका नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको जानकारीविना कुनै पनि ठूला भ्रष्टाचारको घटना नभएको भएपनि प्रधानमन्त्री ओलीले नै भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप लगाए। वर्तमान सरकारले विगत दुई वर्ष त्यत्तिकै खेर फालेर देश र जनताको हितमा कुनै काम गर्न त सकेन नै पछिल्लो एक वर्षमा कोरोना महामारीको सन्त्रासमा जनता रहँदा प्रतिपक्षी दल कांग्रेसले सबै प्रकारको सहयोग गर्दा पनि केही नगर्दा अहिले देशको स्थिति भयावह बनेको थापाले बताए। सरकारको अकमण्र्यताका कारण देशमा प्राप्त उपलब्धिहरु ओरालो लाग्दा देशको अर्थतन्त्रले ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आएको बताए। कांग्रेसले सरकारलाई सांसद विकास कोष नबाढ र दशैँ भत्ता नबाँढ तर कम्तीमा दुई खर्बको राहत प्याकेज ल्याउ भन्दा सरकारले सुनेन भन्दै अस्तिको सर्वदलीय बैठकमा सरकारका प्रधानमन्त्रीले देशमा रामराज्य जस्तै भएको अभिव्यक्ति दिए। देशको अवस्थाबारे केही जानकारी नराखेका प्रधानमन्त्रीलाई थापाले भने, ‘प्रधानमन्त्रीजी तपाई नाङ्गै हिँड्नु भएको छ तर, नेकपाका नेताहरुले बल्ल अहिले देख्दै हुनुहुन्छ।’ तीन वर्ष संसदमा केपी ओलीले मलाई भोट नहालेको भनि व्यंग्य गरेका थिए अहिले नेकपाकै नेताहरु कहिले १९ पाने त कहिले २८ पाने आरोपपत्र लिएर हिड्न थालेको बताए। सत्तारुढ नेकपा कुनै पार्टी नै नभएको बताउँदै विगतमा कुनै सामान्य शिष्टाचार मात्र निभाउन तयार भएर हात मिलाउनसम्म तयार नभएका ओली र पुष्पकमल दाहाल विगतमा कांग्रेस र माओवादी मिलेमा तत्कालिन एमालेको चुनावी हालत खराब हुने र एक्लाएक्लै लडे कम्युनिष्ट हार्ने र आफूहरु नै कठिनाइमा पर्ने भएपछि निहित स्वार्थमा नेकपाको एकीकरण भएको भन्दै यो कम्युनिष्ट पार्टी नभएको दाबी गरे। यो नेकपाले जनताबाट जुन बहुमत प्राप्त गर्यो त्यसले सुदूरपश्चिम प्रदेशकै मुख्यमन्त्रीको निरिहता र लाचारिताका कारण जनता अहिले सडकमा आउन बाध्य भएको भन्दै आलोचना गरे। मुख्यमन्त्री आफैँले कोरोना पीडित जनतालाई मास्क र सेनिटाइजर ल्याउन नसकेर केन्द्रकै मन्त्री र नेताले दिएको सामाग्री बाँढेर बसेको भन्दै प्रदेश सरकारको आलोचना गरे। टिकापुरको घटनाको दुःखद पक्षलाई बिर्सन नसकेपनि त्यसलाई मिलाउनु पर्ने अवस्थामा अहिले सरकारको असफलताले जनता आक्रोसित र निराश भएपछि सडकमा राजा आउ देश बचाउ भन्न थालेको बताए। सडकमा राजा आउ देश बचाउ भन्ने युवाको हक र अधिकार रहेको भन्दै ५९ सालमा पनि यसैगरी युवाहरुले सडकमा नारा लगाएपछि राजा आएपनि आफैँलाई बचाउन नसकेकोले देश कसरी बचाउन सक्छन् भनि प्रश्न गरे। हिँजोको शासनसत्तामा तर काढेका पूर्वपञ्चहरुले लगाएको नारा बेग्लै हो तर, विगतमा जुन ढंगले १७ सालमा बीपीको सरकार कु गरेर ३० वर्षे पञ्चायत र ४८ सालपछि आफ्नै कमजोरीले सरकार ढल्दा र माओवादी हिंसामा फँस्यो त्यसपछि उत्पन्न परिस्थितिले जनताले कष्ट व्यहोर्नुृ परेको बताए। यसका अतिरिक्त वर्तमान सरकारको असफलताले जनता र देशको परिवर्तन धरापमा पार्न पाउँदैन भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजाको ठाँट चाहिएको छ र अहिलेको अवस्थाबाट चित्त नबुझेको भए चुनावमा आएर चुनौतिको सामना गर्न चुनौती दिए। देशमा रहेका सबै धर्म, संस्कृति र परम्परा बचाउन पर्ने सरकारले होली वाइन खुवाउने र विगतमा देशमा मन्दिरका मूर्तिहरु बेच्ने मण्डलेहरुले नेपालीको धर्म बचाउन नसक्ने थापाले दाबी गरे। लामो संघर्षपछि देशमा आएको राजनीतिक परिवर्तन जोगाउन ओली असक्षम हुँदा देश र जनताले ठूलो मूल्य चुकाउनु परेको भन्दै यसको हिसाबकिताब व्यवस्थाको विरुद्धमा उत्रिएन नभई आगामी चुनावमा गर्नु पर्ने बताए। उनले अब आम जनताले दुई वर्ष कुरेर आउने निर्वाचनमा हिँजो गरेका कुनै एउटा गल्ती नदोहोर्याएर ओलीले खेर फालेको पाँच वर्षको क्षतिपूर्ति हुनेगरी समग्र क्षेत्रमा जनताले राहत दिने संकल्प कांग्रेसले गर्ने बताए। उनले कांग्रेसले शीतल निवास र सिंहदरबारतिर हेर्ने होइन परेको अवस्थामा त्यसालाई घेर्ने र आम जनताको घरदैलोमा पुग्ने बताए। विगत ८/९ महिनामा परिस्थितिको कारण सरकारलाई पत्र लेखेर बसेपनि अहिले बाध्य भएर कांग्रेस ओली सरकारलाई ठिक ठाउँमा ल्याउन सडकमा आएको बताए। साथै उनले यो सरकारले कानून बनाउने बहानामा जनताका मौलिकहरुमाथि अंकुश लगाउने कुचेष्टा गरिरहेको बताउँदै समयमा सजग हुन पनि आग्रह गरे।      
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update