नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गल्ली र सडकमा भेला गराएर जनतालाई अप्ठ्यारोमा पार्ने अथवा यातयात अवरुद्ध गर्ने कुनै इच्छा नहुँदा नहुँदै पनि बाध्य भएर विरोधमा उत्रनु परेको बताएका छन्।
कांग्रेसले आज आयोजना गरेको देशव्यापी विरोध प्रदर्शन कार्यक्रम अन्तरगत मकवानपुरको हेटौँडामा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अहिलेको सडक विरोध बाध्यात्मक परिस्थितिको उपज भएको बताउँदै उनले भने, ‘हामीले केही गरेन भने पनि केही गरेनन् भन्छन् केही गर्यो भने फेरि यस्तो गर्यो भनिन्छ।’
प्रजातन्त्रमा ढंगा हान्ने, मानिसलाई दुःख दिने, पसलहरु बन्द गराउने अथवा सडक बन्द गराउने र सडकमै आमसभा गर्ने हाम्रो उद्देश्य नभएको बताउँदै उनले भने, ‘तर, आज हामी बाध्य भएर गरिरहेका छौँ, यसका लागि म नेपाली कांग्रेसको तर्फबाट आम जनतासमक्ष माफी चाहन्छु।’
उनले विगतमा कम्युनिष्ट पार्टी एक हुँदा भनेको भनाई स्मरण गर्दै भने, ‘मैले भनेकोे थिएँ, कम्युनिष्टहरुले जितेपछि बोल्न पाइने छैन। अझ रुन पनि पाइने छैन भनेको थिएँ। आज रोयो भने किन रोइस् भनि जेल हाल्न बेर छैन ओलीले। कतिपय ठाउँमा मानिसहरु रुन थालेपछि प्रहरीले पक्रेर लान थालेको छ भन्दै चोह कोरोनाको विषयमा होस् वा औषधीको माग गरेर होस्।’
उनले रुनु पनि प्रधानमन्त्री ओलीको खिलाफमा भएको भन्दै देशको अवस्था गम्भीर भएको बताए।
अहिले देशमा एकदलीय सर्वसत्तावादी कम्युनिष्ट शासन लागू भएको अवस्था रहेको बताउँदै उनले लोकतन्त्रवादीहरुको सामू धेरै ठूलो चुनौती आएको र त्यसको सामना गर्नु परेको बताए।
देशमा कोरोना संक्रमण विरुद्ध सरकारको लडाईमा आफूले प्रधानमन्त्री ओलीलाई कांग्रेसले विना सर्त सहयोग गर्न तयार रहेको भन्दै आफ्नो तलब र दशैं खर्च पनि सरकारी कोषमै बुझाएपछि मात्रै कम्युनिष्टहरुले बाध्य भएर आफूले पनि दशैँ खर्च दिएको बताए।
उनले कोरोना विरुद्धको लडाइमा सरकारलाई कांग्रेसको पूरापूर साथ र समर्थन हुन्छ भन्दा सरकार र यसका मन्त्रीहरुले कोरोनामा पनि घुस खाने र भ्रष्टाचार गर्ने कार्य गरिरहेको आरोप लगाए।
ओलीको नेतृत्वमा सरकार गठन भएपछि देशमा हत्या, हिंसा, बलात्कारका घटनाहरु अत्याधिक हुँदा कन्चनपुरकी बालिका निर्मला पन्तको परिवारले अहिलेसम्म पनि न्याय पाउन नसकिरहेको बताए।
प्रधानमन्त्री ओलीले शून्य सहनशीलताको प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै देउवाले ‘शून्य सहनशीलताको कुरा गर्ने र कडा कानून ल्याउँछु भन्ने मान्छेले अहिलेसम्म दोषीलाई किन पक्रिन सेकेको छैन?’ भनि प्रश्न गरे।
साथै उनले दोषीलाई पक्रन होइन, खोज्न पनि नचाहेको भन्दै उक्त घटनामा ओलीकै पार्टीका कार्यकर्ताको संलग्नता रहेको आशंका व्यक्त गरे। उनले भने, ‘आज बलात्कारका घटना बढेका छन् भने त्यसमा ओली र ओली सरकारकै कारणले बढेका छन्।’
देउवाले देशमा रहेको कम्युनिष्ट सर्वसत्तावादी सरकारले जनताका मौलिक हक कुण्ठित गर्ने र जनताको बोल्ने, लेख्ने र अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोल्ने काम गरिरहेको आरोप लगाए।
देउवाले आफूहरु देशमा कुनै सर्वसत्तावादी सत्ता नभएर जनताको लोकतान्त्रिक शासन व्यवस्थाका लागि लडेर राजनीतिक परिवर्र्तन ल्याएको शासन व्यवस्थाको रक्षाका लागि पुनः सडकमा आउनु परेको बताए।
कोरोना महामारीको त्रासदीकाबीचमा पनि विरोध सभामा उपस्थित जनताको सहभागिताले आम जनता कम्युनिष्ट सरकारबाट वाक्क भएको र त्यसबाट मुक्ति चाहिरहेको सन्देश दिएको पनि उनले बताए।
पछिल्लो समय देशका विभिन्न भागमा केही समूहले राजा आउ, देश बचाउ भन्दै निस्किएको जुलुस र नाराबाजीप्रति देउवाले भने, ‘यसरी किन राजा आउ देश बचाउ भन्दै हिँड्नु परेको छ? मैले राजालाई भनेको थिएँ, सरकार अरु कुरा के के सहयोग गर्नु पर्छ गर्छु तर, प्रजातन्त्रको खिलाफमा म कुनै हालतमा जान्न भनेपछि मलाई नै थुनेर राखिदियो र जेल हाल्यो। त्यतिबेला स्वतन्त्र अदालत र हिम्मतदार न्यायायल भएकै कारण मलाई छोड्न आदेश दियो। तर, अहिले त अदालतमा पनि ओलीले कम्युनिष्टकरण गर्र्न खोजिरहेका छन्। यसैले स्वतन्त्र, निश्पक्ष न्यायपालिकाका लागि पनि हामी अगाडि बढ्नुछ।
जतिबेला आफूलार्ई जेल राजाले जेल हाल्दा केही नबोल्नेहरु अहिले राजा आउ देश बचाउ भन्ने नारा लगाउन थालेको भन्दै देउवाले आक्रोस व्यक्त गरे। साथै उनले सडकमा व्यवस्था विरोधी नारा लाग्नुको कारण पनि ओली र उनकै सरकारको कारण भन्दै भने, ‘राज आउ देश बचाउ भन्नु पनि कम्युनिष्टकै कारणले हो। यसका लागि ओली र उनकै सरकार जिम्मेवार छ।’
साथै देउवाले देशमा गणतन्त्र ल्याउने वातावरण अरु कसैले नभएर राजा स्वयंले नै निर्र्माण गरेको भन्दै भने, ‘यो गणतन्त्र ल्याएको राजाले नै हो हामीले ल्याएको होइन। हामीले त ७ सालदेखि नै भागेर गएका राजालाई ल्याएकै हौँ, त्रिभुवनलाई फर्काएकै हौँ। तर, यिनीहरुले प्रजातन्त्रलाई सहँदै सहेनन्। त्यसपछि बाध्य भएर हामीले गणतन्त्र ल्याएका हौँ। अब फेरि फर्कने सम्भावना छैन। अहिले जे जति सडकमा राजा आउ देश बचाउ भनि कराइरहेका छन् त्यो ओलीकै कारणले हो। नभए कहाँबाट हिम्मत गरेर आउँथे?’
देउवाले आम जनतालाई स्पष्ट हुन आग्रह गर्दै भने, ‘अब राजा फेरि फर्केर आउने वाला छैन। ओली र उनकै कारणले फर्कायो भने थाहा छैन होइन भने यो आन्दोलन कसरी भइरहेको छ?’
देउवाले आफू र आफ्नो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रतिबद्ध रहेको बताउँदै यो शासन व्यवस्थालाई ओली सरकारको सर्वसत्तावादी सोचबाट मुक्त र सुरक्षित राख्न र जनताप्रति उत्तरदायी गणतन्त्र कायम गर्न प्रतिबद्ध भएको पनि बताए।
उनले समावेशी लोकतान्त्रिक गणतन्त्रमा नै सबै भाषा, भाषी, जाति, धर्म, संस्कृतिको रक्षा हुने र यसका लागि कही कतै यो व्यवस्थामा सुधार गर्र्नु पर्ने भए गर्न तयार रहेको बताए।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय