हिमाल दैनिक
पूर्वसांसद रानाभाटको निधन
eknath-ranabhat
पूर्वसांसद एकनाथ रानाभाटको आज निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उहाँको निधन भएको हो । उच्च रक्तचापका कारण मस्तिष्काघात भई १६ दिनदेखि उनको मेडिकल कलेजमा उपचार भइरहेको थियो । रत्ननगर नगरपालिका वडा नं १४ पिठुवा निवासी रानाभाट विसं २०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेका अनुसार विसं २००९ कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा उनको जन्म भएको थियो । रानाभाट नेपाली कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षलगायत विभिन्न पदमा रही कार्य गरेका थिए । उनका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उहाँको मङ्गलबार बिहान देवघाटमा अन्त्येष्टि गरिँदैछ । कांग्रेस चितवनले शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान् नेता गुमाएकामा दुःख प्रकट गरेको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले उहाँको निधनले सिङ्गो कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताए । उनका अनुसार बिहान ८ः३० बजेदेखि एक घण्टा उहाँको शव पार्टी कार्यालय नारायणगढमा राखिनेछ ।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update