हिमाल दैनिक
जनता समाजवादी पार्टी (जसपा) का शिर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट वार्ता गर्ने भएका छन्। जसपाका शिर्ष नेताहरु आज अपराह्न साढे ५ बजे प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार जान लागेका हुन् । प्रधानमन्त्री संग भेटवार्तामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण सहभागी हुने छन् । टीकापुर काण्डका मुख्य अभियुक्त भनिएका रेशम चौधरीको रिहाइ, प्रदेशका मन्त्रीहरू माथि मुद्धा लगायतका मुद्धा सम्बोधन गरेमात्र सत्ता समीकरणमा छलफल गर्ने राजपाका अध्यक्ष महन्थ ठाकुरले बताए। जसपा, नेपालको केन्द्रीय कार्यालयमा संचारकर्मी संग कुरा गर्ने क्रममा उनले भने,'साढे पाँच बजे प्रधानमन्त्रीसँग भेट्न गइरहेका छौँ । यसमा हामीले हाम्रा साथीहरू, सांसदहरू जेलमा छन् । प्रदेशका मन्त्रीहरू माथि मुद्धा छ । उनीहरूको रिहाइको विषयमा, मुद्धा फिर्ताको विषयमा कुरा गर्छौ । सत्ता समीकरणको विषयमा हामीले केही कुरा गर्दैनौँ । हाम्रो एजेण्डा पूरा भएपछि मात्रै हामी सत्ता समिकरण बारे सोचौँला ।' यसअघि जसपाका नेताले हिजो माओबढी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसंग पेरिसडाँडामा भेटवार्ता गरेका थिए। मंगलबार बसेको जसपाको संसदीय दल बैठकले जसपाका मुद्धा सम्बोधन गर्ने पक्षलाई नै समर्थन गर्ने निर्णय गरेको थियो । बैठकले आफुहरुलाई पटक पटक आश्वासन दिए पनि माग सम्बोधन नभएकाले आफुहरुको मागलाई प्राथमिकतामा राखेर अघि बढ्ने जसपाको निष्कर्ष निकालेको थियो। त्यस्तै हिजो प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले ओली नेतृत्वको सरकारमा जाने जसपाको कुनै योजना नरहेको बताएका थिए।
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update