प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गतेको केन्द्रीय कमिटीको बैठकमा आउन सार्वजनिक आह्वान गर्दै बैठकमा सहभागी नभए कारवाही गर्ने चेतावनी दिएका छन् ।
अखिल नेपाल महिला संघ (अनेमसंघ)को भृकुटीमण्डपमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले ७ गतेको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूह नआए कारवाही गर्ने चेतावनी दिएका हुन् । प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन गठबन्धनको सरकार बनाउने प्रयास भइरहेको बताउँदै आफूलाई हटाएर देखाउन चुनौती दिए ।
उनले आगामी चूनावमा फेरी आफू दुई तिहाइका साथ सिंहदरबारमा आउने उद्घोष गरे । सरकारमा भए पनि देश बनाउने र प्रतिपक्षमा भए पनि देश बनाउने तयारी गर्ने ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले आफ्नो गन्तव्य सत्ता नभएको दाबी भन्दै जनतालाई हेर्ने र समृद्धि चाहने आफ्नो बाहेक अरु कसैको पार्टी नभएको तर्क गरे ।
अहिले गठबन्धनको सरकार बनाउन खोजेको भन्दै ओलीले त्यसलाई ’टालटुले’ सरकारको संज्ञा दिए । प्रचण्डले दुई तिहाइको पार्टी भत्काएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद खाइदिन आग्रह गरेको ओलीको आरोप छ । ओलीले प्रचण्ड–नेपालले साधारण सदस्यबाट हटाए पनि आफूले भने कसैलाई नहटाएको दावी गरे ।
ओलीले अदालतको फैसलापछि नेपाल–खनाल समूहका नेता पेरिसडाँडाबाट बिदाइ भएर आफूलाई ठेगान लगाउन आएको तर्क गरे ।
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय