नेकपा एमालेका माधव नेपाल पक्षले आज प्रधानमन्त्री केपी ओलीसंग भएको छलफलको ब्रिफिङ गर्न भेला गरेका छन् । आज बिहान नेकपा एमालेको पार्टी कार्यलय धुम्बाराहीमा संस्थापन पक्ष र नेपाल पक्षबीच भएको भेटवार्ता बारे ब्रिफिङ गर्न माधव नेपालले बानेश्वरको एक होटेलमा भेला गरेका हुन् ।
आधा घण्टा चलेको उक्त बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्य, सांसद लगायत अन्य नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।
संस्थापन पक्षसंगको छलफलमा उनले समस्या समाधानका लागि कार्यदल बनाएर अघि बढ्न सकिने प्रस्ताव गरेका छन् ।
कार्यदल बनाएर अघि बढ्न सकिने प्रस्ताव राखे पनि दुई पक्षबीच सहमति भने हुन सकेन । छलफलका क्रममा नेपाल पक्षले गएको फागुन २८ गते गरेको निर्णय वैधानिक नभएकाले त्यसलाई शून्यमा लैजानुपर्ने धारण राखेको थियो ।
छलफलपछि नेता नेपालले बिभिन्न बिषयमा ओलीसंग छलफल भएको बताए । उनले पार्टीभित्र देखिएको मतभेद र समस्यालाई कार्यदल नै बनाएर समधान गर्नुपर्नेमा जोड दिएको बताए ।
माधव नेपाल समूहका नेता तथा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार भेला आधा घण्टा बसेर सकिएकाे हाे । 'छलफलमा ओलीसँग भएको वार्ता सुरुवाती हाे । अन्य हाम्राे कार्यक्रमहरु यथावत छ । त्यसमा कुनै अन्याैलता नआओस् भनेर संक्षिप्त बैठक बाेलाइएको हाे ' उनले भने । खनाल-नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला बाेलाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय