हिमाल दैनिक
अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा केन्द्रीय जाँच एजेन्सी (सीबीआई) ले नयाँ कुरा पत्ता लगाएको भारतीय अखबारले बताएका छन्। सुशान्तको सम्पत्तिको छानवीन गरिरहेको इन्फोर्समेन्ट डाइरेक्ट्रेड (इडी) कार्यालयले सीबीआईलाई हालै एउटा रिपोर्ट बुझाएको छ। जुन रिपोर्टमा विगत पाँच वर्षयता सुशान्तको कमाईं ७० करोड भएको तथ्य खुलेको छ। सुशान्तको यो पैसामा हत्याको आरोपी मानिएकी उनकी प्रेमिका रिया चक्रवर्ती र उनको परिवारले सबैभन्दा बढी खर्च गरेको बैंक स्टेटमेन्टबाट पत्ता लागेको छ। रियाका भाई सौविक चक्रवर्तीको पढाईको शुल्क पनि सुशान्तको अकाउन्टबाट खर्च हुने गरेको तथ्य पनि खुलेको छ। रियाले केही दिनअघि भारतको एउटा च्यानललाई दिएको अन्तर्वार्तामा आफू र आफ्नो परिवारको खर्च आफैले जुटाउने गरेको बताएकी थिइन। तर, त्यसको विपरित सुशान्तको बैंक अकाउन्टमा रियाले आफ्नी आमाको ब्यूटीपार्लरको बिल पनि चुक्ता गरेको देखिएको छ। सुशान्तको पैसाबाट ड्रग्स खरिद गर्ने र बेच्ने कुराको तथ्य वाट्सऐप च्याटबाट बाहिरिएपछि रियालाई विगत ४ दिनदेखि सीबीआईले सोधपुछ गरिरहेको छ। सुशान्तलाई ड्रग्सको बानि लगाउन उनलाई थाहा नदिइकन जुस र खानामा मिसाएर ख्वाउने गरेको तथ्य पनि उजागर हुँदै गइरहेको छ। बलिउडको सबैभन्दा ठूलो ‘मर्डर मिस्ट्री’ बनेको सुशान्तको आत्महत्या प्रकरणको छानवीन देशको सबैभन्दा बलियो एजेन्सी सीबीआई, इडी र नारकोटिक विभागले एकैपल्ट गर्दैछ। भारतमा निकै कम घटनामा मात्र यी तीनवटा एजेन्सीले एकै पल्ट छानवीन गरेका हुन्। ड्रग्स मुद्धामा बलिउडका ठूला कलाकार पनि तानिने सम्भावना प्रबल छ। यस मुद्धामा प्रहरीले दुई जना ड्रग्स भरियालाई पक्राउ गरिसकेको छ। सुशान्त १४ जुनमा मुम्बईस्थित आफ्नो घरमा मृत अवस्थामा फेला परेका थिए। उनको घरमा काम गर्ने कर्मचारीले उनी झुण्डिएर मरेको बयान मुम्बई प्रहरीलाई दिएपनि झुण्डिएको तस्बिर अहिलेसम्म सार्वजनिक भएको छैन। मुम्बई प्रहरीले यो मुद्धामा राम्रोसँग छानवीन नगरेपछि सुशान्तका बुवाले पटनामा रियाविरूद्ध मुद्धा दायर गरेका थिए। सुशान्तको आत्महत्या प्रकरणमा मिडिया तथा उनका लाखौं प्रसंसकको दबाब परेपछि केन्द्र सरकार सक्रिय भएको थियो। अहिले सर्वोच्च अदालतको निर्णयअनुसार सीबीआईले यो मुद्धा हेरिरहेको छ। सोमबार सीबीआईको दसौं दिनको छानवीन चलिरहेको छ। यसअवधिमा सीबीआईले थुप्रै जानकारी पाइसकेको भारतीय मिडियाले बताएका छन्।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update