हिमाल दैनिक
ब्रोडको अलराउन्ड प्रदर्शनले अन्तिम टेष्टमा इङ्ल्यान्ड बलियो
1595730177.Brod
स्टुवार्ड ब्रोडले अलराउन्ड प्रदर्शन गरेपछि वेष्ट इन्डिजविरुद्धको अन्तिम टेष्टमा इङ्ल्यान्ड बलियो स्थितिमा रहेको छ। ब्याटिङतर्फ ६२ रन बनाएका ब्रोडले बलिङतर्फ दुई विकेट लिएपछि दोस्रो दिन सकिँदा वेष्ट इन्डिज १३७–६ को स्थितिमा छ। भ्रमणकारी वेष्ट इन्डिजका जसोन होल्डर २४ तथा शान डोरिच १० रन बनाएर क्रिजमा छन्। इङ्ल्यान्डले पहिलो इनिङमा सबै विकेट गुमाएर ३६९ रन बनाएको थियो। इङ्ल्यान्ड अझै २३२ रनले अगाडि छ। त्यसकारण वेष्ट इन्डिज फलोअनमा पर्ने सम्भावना कामयै छ। टेष्टमा दोस्रो धेरै विकेट लिने खेलाडी ब्रोडलाई पहिलो टेष्टमा टीम बाहिर राखिएको थियो। साउथह्याम्पटनमा सम्पन्न उक्त टेष्टमा इङ्ल्यान्ड चार विकेटले पराजित भएको थियो। आफूलाई बाहिर राखिएकोमा ब्रोडले असन्तुष्टि व्यक्त गरेका थिए। इङ्ल्यान्डले २५८–४ को स्थितिबाट दोस्रो दिनको शुरूआत गरेको थियो। घरेलु टीम इङ्ल्यान्डले दोस्रो दिन थाल्दा ओली पोपे ९१ तथा जोस बट्लर ५६ रनको स्थितिमा थिए। पोपेले कुनै रन जोड्न सकेनन् भने बट्लरले ६७ रन जोडे। २५८–४ को स्थितिमा रहेको इङ्ल्यान्डले २८० रन जोड्दा ८ विकेट गुमाइसकेको थियो। ब्रोडले ४५ बलमा ६२ रन जोडेपछि इङ्ल्यान्ड सम्मानजनक स्कोर बनाउन सफल भएको थियो। बाँया हाते ब्रोडले २०१३ पछि टेष्टमा बनाएको यो उच्च स्कोर हो। ब्रोडले ९ चौका र एक छक्का प्रहार गरे। ३३ बलमा अर्धशतक बनाएका ब्रोडले डोम बेससँग ७६ रनको साझेदारी गरे। यससँगै टेष्टमा चाँडै अर्धसतक पूरा गर्नेमा ब्रोड तेस्रो स्थानमा रहेका छन्। बेसले १८ रन बनाए। जेम्स एन्डरसनले ११ रन जोडे। वेष्ट इन्डिजका केमर रोचले चार विकेट लिए भने सानोन गाव्रियल र रोष्टन चेजले समान दुई विकेट लिए। जसोन होल्डरले एक विकेट लिए। पहिलो इनिङमा वेष्ट इन्डिजका जोन क्याम्पबेलले ३२, जर्माइन ब्ल्याकउडले २६, होल्डरले २४ तथा शाई होपले १७ रन बनाए। इङ्ल्यान्डका एन्डरसन र ब्रोडले समान दुई विकेट लिएका छन् भने जोर्फा आर्चर र क्रिस वक्सको नाममा एक एक विकेट छ।
प्रकाशित मिति: शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update