घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानविरूद्ध ५ विकेटको शानदार जित दर्ता गरेको छ।
खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले दिएको १९६ रनको लक्ष्य इंग्ल्यान्डले ५ विकेट गुमाएर १९.१ ओभरमा पुरा गर्यो।
इंग्ल्यान्डमा खेलिएको टी-२० मा कुनै पनि टिमले पछ्याएको दोस्रो सबैभन्दा ठूलो लक्ष्य पछ्याउने क्रममा विस्फोटक सुरुवात गरेको इंग्ल्यान्डको लागि ओपनर टम बान्टन र जोनी बेयरस्टोले ६६ रनको साझेदारी गरे।
सातौं ओभरको दोस्रो र तेस्रो बलमा लेग स्पीनर शदाब खानले दुवै ओपनरलाई लगातार बलमा पेभेलियन फर्काएका थिए। बेयरस्टोले ४४ रन बनाउने क्रममा २४ बलमा २ छक्का र ४ चौका तथा बान्टनले २० रन बनाउन १६ बलमा १ छक्का प्रहार गरे।
लगातार २ विकेट गुमेपछि इंग्ल्यान्डको इनिङ कप्तान मोर्गन र दविड मलानले सम्हाले। आक्रामक ब्याटिङ गर्दै कप्तानी इनिङ खेल्ने क्रममा मोर्गनले २७ बलमा १४ औं अर्धशतक पुरा गर्दै टिमलाई जिततर्फ डोर्याए।
मोर्गनलाई १७ औं ओभरमा हरिश रौफले क्याच आउट गराए। उनले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६६ रन बनाए। मलानसँग मोर्गनले तेश्रो विकेटको लागि ११२ रनको साझेदारी गरे।
मोर्गनको विकेटपछि लगत्तै ओभरमा १ रन बनाएका मोइन अलिलाई शदाब खानले तेस्रो शिकार बनाए। तर इंग्ल्यान्ड त्यसबेलासम्म जित नजिक पुगीसकेको थियो।
त्यसपछि दविड मलानले अर्धशतक पुरा गर्दै टिमलाई जितसम्म पुर्याए। छैठौं अर्धशतक बनाउदै उनले अविजित ५४ रन बनाए जुन क्रममा ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
पाकिस्तानको बलिङमा लेग स्पिनर शदाब खानले सर्वाधिक ३ विकेट लिए। हरिश रौफले १ विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने क्रममा पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो।
पाकिस्तानको लागि मोहम्मद हफिजले विस्फोटक ब्याटिंग गर्दै ६९ रन बनाए जुन क्रममा ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै कप्तान बाबर आजमले ४४ बलमा ७ चौकासहित ५६ रन बनाउँदा फखर जमानले ३६ रन बनाएका थिए।
पहिलो विकेटको लागि आजम र जमानले ७२ रनको साझेदारी गरेका थिए। त्यसपछि ब्याटिङमा आएका हफिजले आजमसंग ४० रनको, तेस्रो विकेटको लागि शोयब मलिकसँग ५० रनको तथा चौथो विकेटको लागि इफ्तिखार एहमदसँग ३२ रनको साझेदारी गरे। हजिफलाई अन्तिम ओभरमा टम करनले क्याच आउट गराएका थिए।
इंग्ल्यान्डको बलिङमा लेग स्पिनर राशिद खानले २ विकेट लिए। क्रिस जोर्डन र टम कुरानले समान १-१ विकेट लिए।
यो जितपछि १ खेल बाँकी रहँदा सिरिजमा घरेलु टिमले १-० को अग्रता हाँसिल गरेको छ।
तेस्रो तथा निर्णायक टी-२० सेप्टेम्बर १ मा खेलिनेछ।
यसअघि पहिलो टी-२० वर्षाले प्रभावित हुँदा नतिजाविहिन रहेको थियो। यसअघि पाकिस्तानसँग तीन टेस्टको सिरिज इंग्ल्यान्डले १-० ले जितेको थियो।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय