पेरिस| ब्राजिलियन फुटबलर नेइमारले आफू पिएसजीमै बस्ने बताएका छन् । फ्रान्सको एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा नेइमारले आफू पिएसजीमै बस्ने बताउँदै अर्को वर्ष च्याम्पियन्स लिग फाइनल फेरि खेल्ने बताएका छन् ।
उनले भनेका छन्, ‘म पिएसजीमै बस्छु, साथै अर्को बर्ष च्याम्पियन्स लिग फाइनलमा फर्किने लक्ष्यसहित पिएसजीमै छु । यस पटक च्याम्पियन्स लिग जित्ने छौं । यसको पछाडी क्लबको इतिहासमा मेरो नाम लेखाउनु पनि हुने छ ।'
इन्जुरी र विवादका कारण चर्चामा आइरहने नेइमार कोरोना महामारी पछि पिएसजी बस्ने भएका हुन् । कोरोना महामारी अघि सम्म उनी हरेक दिन बार्सिलोना फर्किने र पिएसजी छोड्ने भन्दै चर्चामा रहने गर्दथे ।
तर यस सिजनमा क्लबको इतिहासमै पहिलो पल्ट पिएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन नेइमारले ठुलो भूमिका खेलेका थिए । फाइनलमा बायर्न म्युनिखसँग पराजित भएपछि पिएसजी इतिहास बनाउनबाट चुकेको थियो ।
नेइमारले यस सिजनका २७ खेल मात्र खेले भने १९ गोल र १२ असिस्ट गरेका थिए । इन्जुरीका कारण मैदान बाहिर हुदा उनी धेरै समय खेल्न सकेनन् भने कोरोना महामारीएल फ्रेन्च लिगका सबै खेल पनि हुन सकेका थिएनन् ।
२०१७ मा कीर्तिमानी २६४ मिलियन डलरमा बार्सिलोनाबाट पिएसजी आएका नेइमार शुरुका दिनमा पिएसजीमा असजिलो महसुस गरेपनि अब भने पिएसजीमै बस्ने बताउन थालेका छन् ।
कोरोना महामारीका कारण बार्सिलोनाले नेइमारलाई फिर्ता लैजाने योजना स्थगित गरेपछि नेइमारले पिएसजी छोड्ने आफ्नो योजना बदलेको बुझ्न सकिन्छ ।