नेपाली लेग स्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनका बाबजुद जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भएको छ ।
सोमबार बिहान सम्पन्न खेलमा जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो । जमैका ओपनर ग्लेन फिलिप्सले ३६ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४९ रनमा आउट भए । उनलाई जाहिर खानले १२ औं ओभरको चौथो बलमा बोल्ड आउट गरे ।
जमैका ओपनर ग्लेन फिलिप्स र जर्मेन ब्ल्याकवुडले पहिलो विकेटका लागि ११.४ ओभरमा ८४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा जमैका पराजित हुन पुगेको हो । फिलिप्स आउट भएलगत्तै १३ औं ओभरको पाँचौ बलमा ब्ल्याकवुड २५ रनमा क्याच आउट हुन पुगे । उनले ३८ बलमा २ चौका प्रहार गरे । चाडविक वाल्टन १० रनमा रन आउट भए ।
जाहिर खानले कप्तान रोभमान पवेललाई २ र आन्द्रे रसेललाई शून्यमा क्याच आउट गर्दै जुक्सलाई खेलमा फर्काएका थिए । तल्लोक्रममा निकोलस किर्तोनले १५ बलमा २ छक्का र १ चौका सहित २५ रन जोड्दै रनको अन्तर घटाए । सन्दीप लामिछाने र विरसामी पेरुमलले खाता खोल्न सकेनन् । सन्दीपलाई १९ औं ओभरको अन्तिम बलमा केस्रिक विलियम्सले मोहम्मद नाबीबाट क्याच गराए ।
जुक्सका जावेल ग्लेन ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । जाहिर खानले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । केस्रिक विलियम्सले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जुक्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनायो । जुक्सका नाजिबउल्लाह जद्रानले २५ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ३५ रनको योगदान दिए । रोश्टन चेश ३६ बलमा १ चौका र १ छक्का सहित ३२ रन अविजित रहे ।
चौथो ओभरको अन्तिम बलमा स्पिनर मुजिब उर रहमानले मार्क डियाललाई ग्लेन फिलिप्सबाट १३ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । सातौं ओभरको दोस्रो बलमा आन्द्रे फ्लेक्चरलाई कार्लोस ब्रेथवेटले जर्मेन ब्ल्याकवुडबाट १ रनमा क्याच आउट गराए ।
आठौं ओभरको अन्तिम बलमा सन्दीपले ओपनर रहकीम कर्नवाललाई ३२ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । कर्नवालले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे । १० औं ओभरको चौथो बलमा स्पिनर विरसामी पेरुमलले मोहम्मद नाबीलाई मुजिबबाट २ रनमा क्याच गराउँदै ६३–४ को अवस्थामा पुर्याए । पाँचौ विकेटका लागि जद्रान र चेशले ६१ रनको महत्पूर्ण साझेदारी गरेका थिए ।
सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर १ विकेट लिए । मुजिब उर रहमानले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । फिडेल एडवार्ड्स, कार्लोस ब्रेथवेट र विरसामी पेरुमलले १–१ विकेट लिए ।
पहिलो सेमिफाइनलमा लिग चरणको अपराजित ट्रीनबेगो नाइट राइडर्ससँग जमैका मंगलबार खेल्ने छ । मंगलबार रातीनै अर्को सेमिफाइनलमा गुयाना एमेजन वारियर्स र सेन्ट लुसिया जुक्स भिड्ने छन् । फाइनल बिहिबार हुने छ ।
सर्वाधिक विकेटकर्ताको सूचीमा सन्दिप चौथो स्थानमा
नेपाली लेग स्पिनर सन्दिप लामिछानेले लिगमा आफ्नो उत्कृस्ट लयलाई कायमै राखेका छन्। सेन्ट लुसिया जुक्स बिरुद्ध सन्दिपले १ विकेट लिंदै ४ ओभरमा मात्र २० रन खर्चिए। यस क्रममा उनले लिगमै पहिलो पटक मेडन ओभर पनि गरे। उनले खेलमा आक्रामक ब्याटिंग गरिरहेका रखिम कर्नवालको महत्वपूर्ण विकेट पनि लिए। उनले अन्य बलर भन्दा किफायती बलिंग पनि गरे र मात्र ५ रन प्रतिओभर खर्चिए। १ विकेट लिंदै उनले लिगमा विकेट संख्या १२ पुर्याए। सेन्ट लुसिया बिरुद्ध १ विकेट लिंदै सन्दिपले जारि सिपिएलमा विकेट संख्या १२ पुर्याएका छन्। लिगको धेरै विकेट लिने बलरको सूचीमा सन्दिप चौथो स्थानमा रहेका छन्। पहिलो स्थानमा जमैकाकै मुजिब उर् रहमान र इमरान ताहिर संयुक्तरुपमा रहेका छन् जसले १५ विकेट लिएका छन्। दोश्रो स्थानमा सेन्ट लुसियाका स्कट कग्लाइन रहेका छन् जसले १४ विकेट लिएका छन्। तेश्रो स्थानमा सेन्ट लुसियाका केसरिक विलियम्स रहेका छन् जसले १३ विकेट लिएका छन्। सन्दिपले १० खेल खेल्दै ९ खेलमा बलिंग गर्ने क्रममा ३६ ओभरमा १ मेडन ओभर गर्दै १८२ रन खर्चेर १२ विकेट लिएका हुन्। यस क्रममा उनले प्रत्येक १८ बलमा १ विकेट लिएका छन्। यस्तै उनले लिगमै १० ओभर भन्दा बढी बलिंग गर्न बलरहरु मध्ये पाँचौ किफायती बलिंग पनि गरेका छन्। उनले प्रतिओभर ५.०५ रन मात्र खर्चीरहेका छन्। यस्तो रह्यो सन्दीपको प्रर्दशन जमैकाले सन्दीपलाई आठौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बल रोस्टन चेशलाई डट राख्दा दोस्रो बलमा लेग वाईका रुपमा चार रन खर्चिए । तेस्रो बल डट राखेका सन्दीपले चौथो बलमा एक रन दिए । पाँचौ बलमा रहकीम कर्नवालले छक्का प्रहार गरे । तर अन्तिम बलमा सन्दीपले कर्नवाललाई बोल्ड आउट गरे । ११ औं ओभरको पहिलो बलमा सन्दीपले चेशलाई एक रन दिए । सन्दीपको दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैटौं बलमा नाजिबुल्लाह जद्रानले कुनैपनि रन जोड्न सकेनन् । १३ औं ओभर सन्दीपले मेडन राखे । चेशले सन्दीपको ६ बलमा कुनैपनि रन जोड्न सकेनन् । १५ औं ओभरको पहिलो बलमा चेशलाई डट राखेका सन्दीपले दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा जद्रानले चौका प्रहार गरे । चौथो बल डट राख्दा पाँचौ बलमा छक्का खर्चिन पुगे । सन्दीपले अन्तिम बलमा एक रन दिए ।प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय