अस्ट्रेलियालाई दोश्रो टि-२० मा ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले तिन टि-२० को सिरिज १ खेल बाँकी रहदै जित्न सफल भएको छ। पहिलो टि-२० मा पनि इंग्ल्यान्ड रोमान्चक खेलमा २ रनले विजयी भएको थियो।
द रोज बल साउथह्याम्पटनमा सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको १५८ रनको लक्ष्य घरेलु टिमले १८.५ ओभरमा मात्र ४ विकेट गुमाएर पछ्यायो।
इंग्ल्यान्डको लागि ओपनर जोस बटलरले अविजित ७७ रन बनाउदै टिमलाई जितसम्म पुर्याए। उनले आठौ अर्धशतक बनाउने क्रममा ५४ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै दविड मलानले ३२ बलमा ४२ रन बनाए जुन क्रममा ७ चौका प्रहार गरे।
ओपनर जोनी बेयरस्टो ९ रन बनाएर आउट भएपछि बटलर र मलानले दोश्रो विकेटको लागि ८७ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए। टम बान्टन २ तथा कप्तान ओएन मोर्गन ७ रन बनाएर आउट हुँदा अन्तिममा इंग्ल्यान्ड थोरै दबाबमा रहेता पनि १९ औं ओभरमा एडम जाम्पालाई मोइन अलि र बटलरले १/१ छक्का प्रहार गर्दै जित दिलाएका थिए। अलिले ६ बलमा १ छक्का र १ चौका प्रहार गर्दै १३ रन बनाए।
अस्ट्रेलियाको बलिंगमा एस्टन एगरले सर्वाधिक २ ( ४-०-२७-२ ) तथा मिचेल स्टार्क र एडम जाम्पाले समान १ विकेट लिए।
अस्ट्रेलियाको ब्याटिंग
यस अघि टस जितेर ब्याटिंग गर्दै अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो। उसको लागि ओपनर आरोन फिन्चले सर्वाधिक ४० रन बनाए जुन क्रममा ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै मार्कस स्टोइनिसले ३५ ( २६ बलमा २ चौका र २ छक्का ) , ग्लेन म्याक्सवेलले २६, एस्टन एगरले २३ रन बनाए।
अत्यन्त नाजुक सुरुवात गरेको अस्ट्रेलियाले ३० रनमा ३ विकेट गुमाएपछि फिन्चले चौथो विकेटको लागि स्टोइनिससंग ४९ रनको साझेदारी गरेका थिए। दुवै ब्याट्सम्यान आउट भएपछि छैठौं विकेटको लागि ग्लेन म्याक्सवेल र एगरले ४३ रनको साझेदारी गरेका थिए।
इंग्ल्यान्डको बलिंगमा क्रिस जोर्डनले ४० रन खर्चेर सर्वाधिक २ विकेट लिए। यस्तै जोफ्रा आर्चर, मार्क वुड र आदील रशिदले समान १ विकेट लिए।
सिरिज अन्तर्गत तेश्रो टि-२० मंगलबार खेलिनेछ। त्यसपछि दुइ टिमले तिन वटा एकदिवसीयको सिरिज खेल्नेछन् जुन सेप्टेम्बर ११ देखि म्यानचेस्टरमा सुरु हुनेछ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय