हिमाल दैनिक
आइपिएलमा चेन्नईको विजयी सुरूवात, साविक विजेता मुम्बई ५ विकेटले पराजित
EiSzEVWU0AEq-LB
अबुधाबी । अम्बाती रायुडू र फाफ डु प्लेसिसको अर्धशतकीय इनिङ्सँगै चेन्नई सुपर किंग्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विजयी सुरूवात गरेको छ। युएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्समाथि ५ विकेटको रोमाञ्चक जित निकाल्दै चेन्नईले सुखद सुरुवात गरेको हो। चेन्नईको जितमा रायुडू र डु प्लेसिसले सतकीय साझेदारीसमेत गरेका थिए। रायुडूले ४८ बलमा ६ चौका र ३ छक्कासहित ७१ रन बनाउँदा डु प्लेसिसले ५८ रन जोडे। उनी ४४ बलमा ६ चौका प्रहार गर्दै अविजित रहेका थिए। यता साम करनले आक्रमक ब्याटिङ् गर्दै ६ बलमा २ छक्का र एक चौकासहित १८ रन बनाए बनाउँदा रविन्द्र जडेजाले १० रन जोडे। चेन्नईका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। ओपनर मुरली विजय र शेन वाटसनले क्रमशः एक र चार रन बनाएर आउट भए। कप्तान महेन्द्र सिंह धोनीले २ बल खेले पनि कुनै रन बनाउन सकेनन्। मुम्बईका लागि ट्रेन्ड बोल्ट, जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्ड्य र राहुल चाहरले समान १/१ विकेट लिए। यसअघि शेख जायद स्टेडियम अबुधाबीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो। मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाए। उनले  ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै डी कक ३३ रनमा आउट भए। उनले २० बलमा ५ चौका प्रहार गरे। अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन्। मुम्बईका काइरन पोलार्ड १८, सूर्यकुमार यादव १७, हार्दिक पान्ड्या १४, रोहित शर्माले १२, जेम्स प्याटिनसन ११, क्रुनाल पान्ड्या तीन र ट्रेन्ट बोल्ट शून्यमा आउट भएका थिए। जस्प्रित बुमराह ५ रनमा अविजित रहे। चेन्नईका रविन्द्र जडेजाले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए।  पियुष चवलाले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए। साम करनले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए। लुन्गी एनगिडीले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए। चहरको ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिएका थिए। यो जितसँगै चेन्नईको आइपिएलमा १०० औं जितसमेत हो।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update