युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ। बुधबार राति आबुधाबीमा कोलकातालाई ४० रनले हराउँदै मुम्बईले २ खेलबाट पहिलो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो।
पहिले ब्याटिङ गर्दै मुम्बईले दिएको १९६ रनको लक्ष्य कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन मात्र बनाउन सक्यो।
कोलकातालाई सस्तैमा रोक्न मुम्बईका ट्रेन्ड बोल्ट, जसप्रित बुमराह, जेम्स प्याटिन्सन र राहुल चहरले २-२ विकेट लिए। यस्तै किरन पोलार्डले १ विकेट हात पारे।
कोलकाताका लागि पाट कुमिन्सले सर्वाधिक ३३ रन बनाए। मात्र १२ ब खेलेका उनले ४ छक्का र १ चौका प्रहार गरेका थिए। कप्तान दिनेश कार्तिकले ३० रन बनाउँदा नितिश रानाले २४ रन जोडे। इयान मोर्गनले १६ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो। मुम्बईका कप्तान तथा ओपनर रोहित शर्माले सर्वाधिक ८० रनको योगदान दिए। रोहितले ५४ बलमा ३ चौका र ६ छक्का प्रहार गरे ।
मुम्बईका ओपनर क्विन्टन डी कक १ रनमा क्याच आउट भएका थिए। दोस्रो विकेटका लागि रोहित शर्मा र सूर्यकुमार यादवले ९० रनको साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए । सूर्यकुमार ४७ रनमा रन आउट भए । उनले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
तेस्रो विकेटका लागि सौरभ तिवारी र रोहितले ४९ रनको साझेदारी गरेका थिए । तिवारी २१ रनमा आउट भए। उनले १३ बलमा समान १ चौका र छक्का प्रहार गरे। हार्दिक पान्ड्या १३ बलमा २ चौका र १ छक्का सहित १८ रनमा हिट विकेटका रुपमा आउट भए। आन्द्रे रसेलको १९ औं ओभरको तेस्रो बलमा पान्ड्याको ब्याटले स्टम्प लागेपछि फेभिलिएन फर्किनु परेको थियो । काइरन पोलार्ड १३ र क्रुनाल पान्ड्या १ रनमा अविजित रहे।
कोलकाताका लागि शिभम् माभीले २ तथा सुनिल नाराने र आन्द्रे रसेलले समान १-१ विकेट लिए।
कोलकाता स्पिनर सुनिल नारायणले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । तीव्र गतिका बलर प्याट कमिन्सले ३ ओभरमा ४९ रन खर्चिदा विकेट लिन सकेनन् । शिवम माभीले ४ ओभरमा १ मेडन सहित ३२ रन खर्चेर २ विकेट लिए । स्पिनर कुलदीप यादवले ४ ओभरमा ३९ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । आन्द्रे रसेलले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिए ।
यो जितसँगै मुम्बईले २ खलबाट २ अंक जोड्दै शीर्ष स्थानमा पुगेको हो।
पराजित कोलकाता पुछारमा रहेको छ।
भोलि किङस इलाभेन पञ्जाब र रोयल च्यालेन्जर्स बैंलोरबिच खेल हुनेछ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय