अष्ट्रेलियाका चर्चित पूर्व क्रिकेटर डिन जोन्सको भारतमा निधन भएको छ। इन्डियन प्रिमियर लिग (आइपिएल)को कमेन्ट्रीका लागि स्टार इन्डियासँग आबद्ध भई भारतको मुम्बईमा रहेका बेला उनको बिहीबार निधन भएको हो ।
उनी बिहीबार बिहान मात्रै ‘मर्निङ वाक’का लागि निस्केका थिए। लञ्च समयमा होटलमै उनलाई ह्रदयघात भएको भारतीय प्रशारण संस्था स्टार इन्डियाले जनाएकाे छ।
आकस्मिक रुपमा हृदयघात भएर उनको ५९ बर्षको उमेरमा निधन भएको हो। स्टार इन्डियाद्धारा जारी वक्तव्यमा लेखिएको छ, ‘डिन मेर्भीन जोन्सको निधन भएको जानकारी गराउनु पर्दा हामीलाई अत्यन्त दुःख लागेको छ। यो दुःखद् घडीमा हामी उहाँका परिवारजन, सुवेच्छुक र समर्थकहरुको साथमा छौँ। उहाँको हृदयघातका कारण आकस्मीक निधन भएको हो।’
उनको अन्त्येष्टिको व्यवस्थापनका लागि आफूहरु अष्ट्रेलियाली उच्च आयोगको सम्पर्कमा रहिरहेको पनि स्टार इन्डियाले जनाएको छ ।
क्रिकेट खेलसम्वन्धी विभिन्न भूमिकामा रहेर लामो समय काम गरेका जोन्सलाई दक्षिण एसियामा क्रिकेटको विकासका लागि महत्वपूर्ण योगदान गरेको व्यक्तिका रुपमा चिनिन्छ। उनले क्षमतावान युवा क्रिकेटरहरुलाई प्रोत्साहन र सहयोग गर्ने गर्थे भने उनका दशौँ लाखौँ समर्थकहरु थिए। उनी सन् १९८० देखि १९९० सम्ममा अष्ट्रेलियामा अत्यन्त आक्रामक रुपमा खेल क्षेत्रमा लोकप्रिय थिए। जोन्सले ५२ वटा टेस्ट म्याच खेलेका छन् भने १६४ वान डे म्याच खेलेका थिए।
उनले टेस्ट म्याचमा ११ शतक र १४ अर्धशतकसहित ३ हजार ६ सय ३६ रन बनाएका थिए। त्यस्तै वान डे म्याचमा ७ अर्धशतक र ४६ अर्धशतकसहित ६ हजार ६८ रन बनाएका थिए।
डिन जोन्स एक सानदार क्रिकेटरका साथै आफ्नो उम्दा कमेन्ट्रीका लागि पनि चर्चित थिए। कैयौँ अन्तर्राष्ट्रिय खेलमा उनले कमेन्ट्री गरेका छन्।
चर्चित व्याड्सम्यान डिनले खेल जीवनपछि लामो समय विभिन्न देशमा प्रशिक्षक र कमेन्टेटरका रुपमा क्रिकेट क्षेत्रमा योगदान पुर्याएका थिए।
डिन अफगानिस्तान क्रिकेट टिमको अन्तरीम प्रशिक्षक थिए भने पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडको मुख्य प्रशिक्षक थिए।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय