टमी अब्राहमले अन्तिम मिनेटमा गरेको गोलमा चेल्सीले गएराति इङ्लिस प्रिमियर लिगमा वेष्ट ब्रोमविरुद्ध तीन शून्यले पछि परेको स्थितिबाट पुनरागमन गर्दै ३-३ को बराबरी खेलेको छ।
पहिलो हाफमा ३-० को अग्रता लिएको वेष्ट ब्रोमले नयाँ सिजन लिगमा पहिलो जित दर्ता गर्ने संकेत गरेको थियो। तर, दोस्रो हाफमा चेल्सीले उत्कृष्ट पुनरागमन गरेपछि बेष्ट ब्रोमले एक अंकमा चित्त बुझाउनु पर्याे।
वेष्ट ब्रमेले तीस मिनेट नबित्दै तीन गोल गरेको थियो। कालुम रोबिन्सनले चौथो मिनेटमा गरेको गोलबाट वेष्ट ब्रोमले अग्रता लियो। २५औं मिनेटमा रोबिन्सनले अग्रता दोब्बर बनाए। २७औं मिनेटमा केल बार्टलीले अर्को गोल थपेपछि घरेलु टीम वेष्ट ब्रोमले तीन शून्यको अग्रता लियो।
दोस्रो हाफको सुरुमै चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले दुई खेलाडी परितर्वन गरे। मार्कोस एलोन्सोको स्थानमा सेसर एजप्लिक्वेटा र माटेयो कोभासिचको स्थानमा कालुम हडसन ओडोईलाई मैदान छिराए।
एजप्लिक्वेटाको पासमा मासन माउन्टले ५५औं मिनेटमा गोल गदैं चेल्सीको गोलअन्तर कम गरे। बैकल्पिक खेलाडी हडसन ओडोईले काई हाभार्टजको पासमा अर्को गोल थपे। पाँच मिनेट इन्जुरी समयको तेस्रो मिनेटमा अब्राहमले बराबरी गोल फर्काएपछि चेल्सीले एक अंक लिन सफल भयो।
अघिल्लो खेलमा गल्ती गरेका केपा एरिजाबालागाको स्थानमा लामपार्डले विले काबालेरोलाई स्थान दिएका थिए। यसै सिजन चेल्सीमा अनुबन्ध भएका थियागो सिल्भाले प्रिमियर लिगमा डेब्यू गरे। तर, उनको डेब्यू सुखद भएन। सिल्भाकै गल्तीमा वेष्ट ब्रोमले दोस्रो गोल गरेको थियो।
बराबरीसँगै तीन खेलबाट चार अंक जोडेको चेल्सी छैटौं स्थानमा छ। एक अंक जोेडेको वेष्ट ब्रोम १६औं स्थानमा छ।
प्रकाशित मिति: शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय