हिमाल दैनिक
डर्टमुन्ड अग्सबर्गसँग स्तब्ध
Dortmund-l-1024x683
युवा स्टार एर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चो सम्मिलित बोरुसिया डर्टमुन्ड जर्मन बुन्डेसलिगामा अग्सबर्गसँग स्तब्ध बनेको छ । शनिबार भएको खेलमा डर्टमुन्ड घरेलु टोली अग्सबर्गसँग २–० ले स्तब्ध बनेको हो । नयाँ सिजनको बुन्डेसलिगामा डर्टमुन्डको यो पहिलो हार हो । अग्सबर्गको लगातार दोस्रो जित हो । डर्टमुन्डले पहिलो खेलमा बोरुसिया मोन्चेनग्लाडवाकलाई ३–० ले पराजित गरेको थियो । यस्तै अग्सबर्गले पहिलो खेलमा युनियन बर्लिनमाथि ३–१ को जित निकालेको थियो । डर्टमुन्डलाई स्तब्ध पार्न अग्सवर्गका फेलिक्स युदोखाई र ड्यानियल क्यालीगुरीले पहिलो र दोस्रो हाफमा गोल गरे । खेलको सुरुवात देखि नै डर्टमुन्डले घरेलु टोलीलाई दवावमा राखेपनि अग्सवर्गको रक्षापङ्ति तोड्न सकेन । पाँचौ मिनेटमा जाडोन सान्चोको प्रहारलाई अग्सवर्गका गोलरक्षक राफलेल बचाए । नवौ मिनेटमा एर्लिङ ब्राउट हालान्डको कर्नरमा जाडोन सान्चोको प्रहार पोस्टबाट थोरै बाहिरियो । ४०औं मिनेटमा फेलिक्स युदोखाईले गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए । ड्यानियल क्यालीगुरीको फ्रिकिक प्रहारलाई युदोखाईले हेडरमार्फत जाली चुमाएका थिए । ५४औं मिनेटमा ड्यानिलय क्यालीगुरीले गोल गर्दै अग्सवर्गलाई २–० को अग्रता दिलाए । फ्लोरियन नाइडरलेचनरको पासमा क्यालीगुरीले एक डिफेन्डर र गोलरक्षक रोमन बुर्कीले बिट गर्दै गोल गर्न सफल भएका थिए । खेलमा २–० ले पछि परेपछि डर्टमुन्डले बल पोजेसनमा बलियो पकड बनाएपनि फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो । डर्टमुन्डले ७० प्रतिशत बल पोजेसन राखेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा अग्सबर्गले डर्टमुन्डमाथि २–० को सहज जित निकाल्यो जितसँगै अग्सबर्गको दुई खेलबाट ६ अंक पुगेको छ । समान खेलबाट डर्टमुन्डको ३ अंक छ ।
प्रकाशित मिति: शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update