इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले फियोरेन्टिनामाथि रोमाञ्चक जित निकालेको छ । गोलको वर्षा भएको खेलमा इन्टरले फियारेन्टिनामाथि ४–३ को रोमाञ्चक जित हात पारेको हो ।
घरेलु मैदानमा इन्टरको जितमा लउटारो मार्टिनेज, रोमेलु लुकाकु र ड्यानियल डि एम्ब्रुसियोले गोल गर्दा एक गोल उपहार पाएको थियो । फियोरेन्टिनाका क्रिस्टियन कोआमे, गेटानो क्यास्ट्रोभिल्ली र फेडरिको चिइसाले गोल गरे ।
मिलानो इटालीमा शनिबार राति भएको खेलको तेस्रो मिनेटमा नै क्रिस्टियनको गोलबाट फियोरेन्टिनाले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लउटारो मार्टिनेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
५२औं मिनेटमा फेडरिको सेसहेरिनीले आत्मघाती गोल गरेपछि इन्टरले खेलमा २–१ को अग्रता लियो । ५७औं मिनेटमा गेटानो क्यास्ट्रोभिल्लीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६३औं मिनेटमा फेडरिको चिइसाले गोल गरेपछि फियोरेन्टिनाले खेलमा ३–२ को अग्रता लिन सफल भयो ।
त्यसपछि इन्टरले थप दुई गोल गर्दै ४–३ ले विजयी हुन सफल भयो । ८७औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए । ८९औं मिनेटमा ड्यानियल डि एम्ब्रुसियोले गोल गर्दै इन्टरलाई ४–३ को रोमाञ्चक जित दिलाए ।
यससँगै मिलानले सिरी ‘ए’ को नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । फियोरेन्टिनाको भने यो पहिलो हार हो । यसअघि फियोरेन्टिनाले टोरिनोमाथि १–० को जित निकालेको थियो ।
प्रकाशित मिति: शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय