भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको दुई गोल सहयोगमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा सस्सुलोमाथि झिनो जित निकाल्दा अर्काे खेलमा एटलान्टाले बोलोग्नालाई १–० ले हराएको छ ।
मिलानले घरेलु टोलीमाथि २–१ को जित निकालेको हो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । मंगलबार राति भएको खेलको १९औं मिनेटमा इभ्राहिमोभिचले हाकान कालहानोग्लुको पासमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
४२औं मिनेटमा सस्सुलोका फ्रान्सिस्को कपुटोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा इभ्राहिमोभिचले व्यक्तिगत तथा टिमको लागि दोस्रो गोल गर्दै मिलानलाई खेलमा पुनः २–१ को अग्रता दिलाए । उनले हाकानकै पासमा गोल गरेका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा घरेलु टोली सस्सुलो १० खेलाडीमा समेटियो । सस्सुलोका मेदी बौरएविया दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
घरेलु टोली १० खेलाडीमा समेटिएपनि मिलानले दोस्रो हाफमा थप गोल गर्न सकेन । पहिलो हाफको नतिजा नै मिलानको जितमा पर्याप्त बन्यो । जितपछि मिलान ३५ खेलबाट ५९ अंक जोडेर पाँचौ स्थानमा उक्लदा सस्सुलो ४८ अंक जोडेर आठौं स्थानमा यथावत रहेको छ ।
यस्तै अर्काे खेलमा यो सिजन उच्च प्रदर्शन गरिरहेको एटलान्टाले बोलोग्नामाथि १–० को कठिन जित निकालेको छ । एटलान्टाको जितमा ६२औं मिनेटमा लुइस मुरिएलले गरेको गोल नै निर्णायक बन्यो । उनी दोस्रो हाफको शुरुमै मारियो पासालिसको स्थानमा मैदान प्रवेश गरेका थिए ।
जितपछि एटलान्टाले एक खेल कम खेलेको इन्टर मिलानलाई दुई अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । एटलान्टाको ७४ तथा इन्टरको ७२ अंक छ । बोलोग्ना ४३ अंक जोडेर १०औं स्थानमा छ ।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय