तेस्रो जितसहित जमैका तेस्रो स्थानमा उक्लियो, सन्दिपको उत्कृष्ट २ विकेट
काठमाडौं
क्यारेवियन प्रिमियर लिग (सिपिएल) टी-२० अन्तर्गत नेपाली स्पिनर सन्दिप लामिछाने सम्मिलित जमैका तलावाजले तेस्रो जित दर्ता गरेको छ।
आइतबार बिहान सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्सलाई ३७ रनले हराउँदै जारी प्रतियोगिताको छैठौं खेलबाट तेस्रो जित निकालेको हो।
जित पछि जमैका ६ खेलमा ३ जित र ३ हार सहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। समान ६ खेल खेलेको ट्रिनबागो १२ अंक सहित पहिलो र सेन्ट लुसिया ८ अंकसहित दोस्रो स्थानमा छन्। बार्बेडोस चौथो, गायना पाँचौ र सेन्ट किट्स पाँचौ हारपछि छैठौं स्थानमा रहेको छ। सबै टिमले कुल १० खेल खेलेपछि अंकतालिकामा उत्कृष्ट हुने ४ टिम सेमिफाइनल प्रवेश गर्नेछन्।
लिगमा जमैकाले यसअघि पहिलो खेलमा सेन्ट लुसियालाई ५ विकेटले तथा चौथो खेलमा गायनालाई पनि ५ विकेटले पराजित गरेको थियो। यस्तै गायनासँगै १४ रनले, बार्बेडोससँग ३६ रनले तथा ट्रिनबागोसँग ७ विकेटको हारको सामना गरेको थियो।
टस जितेर पहिले ब्याटिङ गर्दै जमैकाले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा सेन्ट किट्सले १९.४ ओभरमा ११० रन बनाएर अलआउट भयो।
सेन्ट किट्सलाई सस्तैमा समेट्ने क्रममा जमैकाको कार्लोस ब्राथवेटले सर्वाधिक ३ विकेट लिए भने सन्दिप लामिछाने, फिडेल इडवार्ड र भिरास्वामी परमौलले समान २/२ विकेट हात पारे। यस्तै मुजिब उर् रहमानले १ विकेट लिएका थिए।
सुरूवातदेखिनै लगातार विकेट गुमाएको सेन्ट किट्सका लागि इभिन लुइस र काइरन पावेलले समान २१ रन तथा निक किलीले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।
यसअघि ओपनर ग्लेन फिलिप्सले अविजित अर्धशतकको सहयोथमा टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो।
जमैकाको लागि प्लेयर अफ द म्याच समेत चुनिएका ओपनर ग्लेन फिलिप्सले सर्वाधिक ७९ रन बनाउने क्रममा अविजित ब्याटिङ गरे। उनले ६१ बलमा २ चौका र ६ छक्का प्रहार गरे। अर्को किनारमा निरन्तर विकेट गुमे पनि फिलिप्सले धैर्यपूर्वक ब्याटिङ गरेका थिए। उनले इनिंगको १७ औं ओभरमा शेल्डन कटरेललाई लगातार ३ छक्का प्रहार गरेका थिए। उत्कृष्ट इनिङपछि फिलिप्स प्रतियोगिताकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनेका छन्। उनले ६ खेलमा २०७ रन बनाएका छन्।
टिमका अन्य ब्याट्सम्यान जर्माइन ब्ल्याकवुडले २७, क्रुमाह बोनर, १६ तथा आसिफ अलिले १४ रन बनाए।
सेन्ट किट्सको बलिङमा कप्तान रायद इम्रिटले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३२ रन खर्चिए। शेल्डन कटरेल, इमरान खान र इश सोढ़ीले समान १/१ विकेट लिए।
सेन्ट किट्स बिरूद्ध २ विकेटसँगै सन्दिपले जारी प्रतियोगितामा ९ विकेट लिइसकेका छन्। यो सँगै उनी धेरै विकेट लिने बलरको सूचीमा चौथो स्थानमा उक्लेका छन्। सन्दिपसँगै मोहम्मद नाबीको पनि समान ९ विकेट रहेको छ र संयुक्तरुपमा चौथो स्थानमा छन्। जमैकाकै अफ स्पिनर मुजिब उर् रहमान १३ विकेट सहित पहिलो स्थानमा रहेका छन्। इमरान ताहिर र स्कट कुगलेजिनको ११ विकेट रहेको छ जो संयुक्त रुपमा दोश्रो स्थानमा रहेका छन्। जमैका बिरूद्ध ३ विकेट लिएपछि रायद इमृट १० विकेट सहित तेस्रो स्थानमा उक्लिएका छन्।
प्रतियोगिता अन्तर्गत सन्दिपले पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध २३ रन खर्चेर १ विकेट, दोस्रो खेलमा ट्रिनबागो बिरुद्ध ३० रन खर्चेर १ विकेट, तेस्रो खेलमा गायना बिरुद्ध ८ रन खर्चेर २ विकेट, चौथो खेलमा गायना बिरुद्ध १२ रन खर्चेर १ विकेट तथा पाँचौ खेलमा बार्बेडोस बिरुद्ध १६ रन खर्चेर २ विकेट लिएका थिए।
सन्दिपको बलिङ
सन्दिपले आइतबार बिहान आफ्नो ४ ओभर स्पेलमा २ छक्का र १ चौकासहित २७ रन खर्चिएर २ विकेट लिए।
पहिलो ओभर : ७ रन ( १ , ० , ० , ४ , १ , १)
खेलको १२ औं ओभरमा पहिलो ओभर बलिङ गरेका सन्दिपलाई तेस्रो बलमा निक केलीले स्वीप गर्दै चौका प्रहार गरे। ओभरमा सन्दिपले ३ वटा सिंगल दिए भने २ बल डट फाले।
दोस्रो ओभर : १० रन ( २ , १ , ० , ० , ६ , १)
खेलको १४ औं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका सन्दिपलाई पाँचौ बलमा इभिन लुइसले स्लग स्विप गर्दै डिप मिडविकेटमा छक्का प्रहार गरे। पहिलो बलमा २ रन तथा दोस्रो र अन्तिम बलमा १-१ दिएका उनले दुई डट बल फालेका थिए।
तेश्रो ओभर : २ रन खर्चेर १ विकेट ( १ , ० , ० , १ , विकेट , ०)
तेस्रो ओभरमा उत्कृष्ट बलिङ गर्ने क्रममा सन्दिपले इभिन लुइसको विकेट लिए। लङ अनमा ठूलो सट खेल्ने क्रममा उनी क्याच आउट भए। ओभरमा सन्दिपले ३ वटा डट बल गरे र मात्र २ रन खर्चिए।
चौथो ओभर : ८ रन खर्चेर १ विकेट ( ६, विकेट, २ , ०, ० , ० )
१८ औं ओभरमा स्पेलको अन्तिम ओभर बलिङ गर्न आएका सन्दिपलाई पहिलो बलमै इश सोढ़ीले छक्का प्रहार गरे। तर त्यस लगत्तै बलमा सन्दिपले सोढ़ीलाई गुगलीमै बोल्ड गर्दै दोस्रो विकेट लिए। ओभरमा उनले मात्र ८ रन खर्चिए र स्पेल अन्त्य गरे।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय