कोरोना महामारीको त्रासमा सरकारले जारी राखेको आंशिक लकडाउन आदेशको मारमा परेका भाडाका ट्याक्सी व्यवसायीहरुको गुनासोलाई ध्यानमा राख्दै प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले ट्याक्सी व्यवसाय संचालन गर्न दिन सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सार्वजनिक यातायात व्यवसायीहरुसंग छलफल गर्दै सुरक्षाका आवश्यक मापदण्डहरु अपनाई ट्याक्सी चलाउने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।
ट्याक्सी संचालन गर्दा स्वास्थ सुरक्षाका लागि निश्चित मापदण्ड बनाएर कार्यान्वयन गर्न पनि समितिले निर्देशन दिएको छ। विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड १९ काइसिस मेनेजमेन्ट कमिटी सिसिएमसीले तयार पारेका मापदण्डहरू पुरा गरी सरकारले लकडाउनकै अवधीमा पनि केही पेशा व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पुरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन आवश्यक देखिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन्।
बैठकमा यातायात क्षेत्रका मजदुरहरुले लकडाउन भएको १ सय ७ दिन बितिसक्दा पनि मजदुरहरुका समस्या सरकारले नसुनेको गुनासो गरेका थिए। संकटको समयमा यातायात मजदुरहरुका लागि सरकारले समेत कुनै राहतका कार्यक्रममा नल्याउँदा दर्दनाक अवस्थामा रहेको उनीहरुको भनाई छ।
नेपाल यातायात मजदुर संघ अध्यक्ष धर्म भण्डारीले कुनै पनि यातायात श्रमिकलाई कोरोना पोजेटिभ देखिएमा आइसोलेसनमा बस्ने समयअवधिसम्म उसको घर खर्चको व्यवस्थानका गर्नुपर्ने माग गरे।
बैठकमा स्वास्थ्य सचेतता अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्नुपर्नेतिर सरकार अग्रसर हुनुपर्ने सांसद र यातायात व्यवसायीले बताएका थिए। कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि चैत ११ गतेबाट लकडाउन सुरु भएसँगै जनजीवन प्रभावित भएको छ । यातायात क्षेत्र, दैनिक ज्यालादारी गर्ने मजदुरहरु बढी समस्यामा परेका छन्।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय