हिमाल दैनिक
अर्थमन्त्री युवराज खतिवडाले नेपाल औद्योगिक विकासमा अघि बढेको भन्दै कानून निर्माण गर्दा स्वदेशी उत्पादनलाई प्रोत्साहन गरिने बताएका छन्। सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग, बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले प्रतिस्पर्धा कुण्ठित हुने गरी कुनै पनि खरिद प्रक्रिया नगरिने पनि बताए । खतिवडाले खरिद विधिलाई व्यवस्थित गर्न सरकारले कानून संशोधनको तयारी गरेको पनि जानकारी दिए। मन्त्री खतिवडाले उद्योगीहरूले पहिले कच्चा पदार्थ र तयारी वस्तुमा एक तहको भन्सार अन्तर कायम हुनुपर्ने माग गर्ने गरेकोमा अहिले दुई तहको अन्तर माग गर्न थालेकाले यसले महङ्गी बढ्न सक्ने अवस्था रहेको बताए। वस्तुमा अनावश्यक संरक्षण दिए मूल्यबृद्धि हुने र उपभोक्ता पनि मारमा पर्ने उनले बताए। खतिवडाले न्यूनतम १० प्रतिशतदेखि बढीमा २० प्रतिशतको संरक्षणमा उद्योगहरू प्रतिस्पर्धी हुन सक्नुपर्ने बताए। खतिवडाले दातृ निकायबाट ऋण लिँदा भन्सार छुट दिइने भनेर सम्झौता गरिने भएकाले त्यसले समस्या सिर्जना भएको गुनासो गरे। छलफलमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठले उद्योगका लागि आयात गरिने कच्चा पदार्थ र तयारी बस्तुको भन्सार फरक हुँदा समस्या देखिएको बताए। स्वदेशी उद्योगलाई आत्मनिर्भर गर्नका लागि भन्सारमा देखिएको अव्यवहारिक सर्तलाई पुनरावलोकन गर्नुपर्ने सुझाव दिए। बैठकमा समिति सदस्यहरुले नेपालमा आयातलाई न्युनिकरण गर्दै स्वदेशी बस्तुहरुलाई प्रोत्साहन गर्ने नीति आउनुपर्नेमा जोड दिए। छलफलपछि समिति सभापति विमल श्रीवास्तवले यस विषयमा थप अध्ययन गरेर सरकारलाई आवश्यक निर्देशन दिने जानकारी दिए।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update