हिमाल दैनिक
विज्ञापन ऐन २०७६ तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन
bikash samiti
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विज्ञापन ऐन २०७६ तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले तत्काल विज्ञापन वोर्ड गठन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । ऐन स्वीकृत भएको ११ महिना वितिसक्दा कार्यान्वयनमा ढिलाई भएकोमा चासो व्यक्त गर्दे समितिले सरकारको नाममा त्यस्तो आदेश जारी गरेको हो । समितिका सभापति कल्याणी खड्काले ऐनको दफा ६ मा उल्लेख भएको डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनलाई विज्ञापन रहित वनाउने एकबर्ष समयावधि तोकिएको र समयावधि सकिन एक महिना वाकि हुँदा समेत खासै काम हुन नसकेको भन्दै तत्काल कार्य सम्पन्न गरि ऐन कार्यान्वयन गराउन निर्देशन दिए । उनले विदेशी च्यानलमा स्वदेशी विज्ञापन राख्ने नीति ऐनको भावना विपरित हुने भन्दै त्यस्तो निर्णय नगर्न समेत संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिए । बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि प्रसाद वस्यालले मन्त्रालय विज्ञापन ऐन कार्यान्वयनमा प्रतिवद्ध रहेको वताए । उनले विज्ञापन वोर्ड गठनकालागि नियमावली मन्त्रीपरिषद्मा पुगेको र यसै हप्ता नियमावली स्वीकृत गरि ऐन कार्यान्वयमा ल्याउने वताए । उनले राष्ट्रिय प्रसारण ऐन र नियमावलीले समेत विदेशी टेलिभिजनलाई विज्ञापन रहित वनाउन कुनै वाधा नपर्ने भएकोले सरकारले यसलाई कार्यान्वयनमा ल्याउने जानकारी गराए । बैठकमा सांसदहरुले ऐन कार्यान्वयमा सरकारले तदारुकता देखाउन नसकेको भन्दै ऐनको तत्काल कार्यान्वयन गर्न आग्रह गरेका थिए । संसदका दुवै सदनवाट पारित भई राष्ट्रपतिवाट २०७६ साल कार्तिक ८ गते स्वीकृति पाएको विज्ञापन ऐन हालसम्म कार्यान्वयमा आउन सकेको छैन ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update