ह्वाइट हाउसको बाहिर एक व्यक्तिसँग विवाद भएसँगै अमेरिकी गुप्तचर सेवाका एक अधिकृतले ती व्यक्तिमाथि सोमबार गोली चलाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजनबाट पत्रकार सम्मेलन गरिरहेको समयमा उक्त घटना भएको थियो । अधिकारीहरुले पत्रकार सम्मेलनकै बीचमा राष्ट्रपति ट्रम्पलाई घटनाका बारेमा जानकारी गराएका थिए ।
https://twitter.com/i/status/1292953719995326469
अमेरिकी गुप्तचर सेवाका प्रमुख टम सुलिभानले ह्वाइट हाउस परिसर सुरक्षित रहेको र कसैबाट खतरा नरहेको बताए ।
सुलिभानले गोली लागेका व्यक्तिले आफूसँग हतियार रहेको दाबी गरेको बताएका छन् । नाम थर नखुलाइएका ती ५१ वर्षीय पुरुषले गुप्तचर सेवाका अधिकृतमाथि एक्कासी जाइलागेको पनि सुलिभानले बताए ।
कानुन कार्यान्वयन अधिकारीहरुले ती व्यक्तिको उद्देश्य पहिल्याउने प्रयास गरिरहेका छन् ।
राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग सम्बन्धित विवरण सार्वजनिक गर्नै लाग्दा अमेरिकी सिक्रेट सर्भिसका एजेन्टले ट्रम्पलाई ब्रिफिङ कक्षबाट भित्र लगेका थिए । राष्ट्रपति ट्रम्प ९ मिनेटपछि पुनः ब्रिफिङ कक्षमा प्रवेश गर्नु भएको थियो । उहाँले ह्वाइट हाउस बाहिर गोली चलेको र त्यो नियन्त्रणमा आइसकेको जानकारी दिएका थिए ।
ट्रम्पले भने, “त्यहाँ साँच्चिकै गोली चलेको र एक व्यक्तिलाई अस्पताल लगिएको छ ।”
ट्रम्पले एजेन्टले आफूलाई ओभल अफिसमा लगेको जानकारी पनि दिए । उक्त घटनापछि ह्वाइट हाउसलाई लकडाउन गरिएको थियो ।
सोमबार साँझ सुलिभानले जारी गरेको एक वक्तव्यमा गोलीकाण्ड स्थानीय समयअनुसार साँझ ६ बजे भएको उल्लेख छ ।
––
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय