विगत ४ महिनादेखि रोकिएको श्रम स्वीकृति खुला भएसँगै काठमाडौंबाट मात्र लगभग २ सय युवाले स्वीकृति लिएका छन्। सरकारले असार १८ बाट बिदामा आएका श्रमिकको लागि पुनः श्रम स्वीकृति खुला गरेपछि शनिबार र आइतबार सो संख्यामा स्वीकृति दिइएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ ।
वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलका प्रमुख उमेश बस्नेतले पुनः श्रम स्वीकृति खुला भएसँगै शनिबार ४७ र आइतबार लगभग १५० सेवाग्राहीलाई स्वीकृति दिएको जानकारी दिए। ‘सेवाग्राहीलाई धेरैभन्दा धेरै सेवा दिने लक्ष्यसहित दैनिक ५ सयका लागि टोकन वितरण गरिने तयारी छ,’ प्रमुख बस्नेतले भने, ‘सार्वजानिक यातायात सञ्चालनमा नआएका कारण टोकन अनुसार सबै सेवाग्राहीले आवेदन दिन सकेका छैनन।’ प्रदेशस्तर ६ र काठमाडौं १ गरी देशभरका ७ कार्यालयबाट दैनिक १ हजार ५०० लाई श्रम स्वीकृति दिन सक्ने क्षमता भए पनि नयाँका श्रमिकका लागि श्रम स्वीकृति खुला नगरेका कारण कार्यलयमा भने भीडभाड छैन ।
नोबेल कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले फागुन २९ गतेदेखि रोक्का गरेको वैदेशिक रोजगारीको श्रम स्वीकृति बिहीबारबाट खुला गरेको थियो । यो निर्णयसँगै बिदामा आएर पुनः श्रम स्वीकृति लिनयोग्य श्रमिक अब रोजगारीमा पुनः जान पाउने भने नयाँ श्रम स्वीकृतिको हकमा सरकारले अध्ययन गरेर केही समयपछि खोल्ने भएको छ । पुनः श्रम स्वीकृति लिन आउने सेवाग्राहीको स्वास्थ्य सुरक्षाका लागि व्यक्तिगत दूरी कायम गरी श्रम स्वीकृति दिइरहेको कार्यालयले जनाएको छ ।
श्रम स्वीकृतिको काम काठमाडौंबाट सुरु भए पनि प्रदेशस्तरबाट भने आइतबारसम्म हुन सकेको छैन । आइतबार बिराटनगरबाट श्रम स्वीकृति दिन हजारौं युवा श्रम कार्यालय पुगे पनि कर्मचारी व्यवस्थापन नभएका कारण श्रम स्वीकृति दिने काम हुन सकेन। सो कार्यालयले कर्मचारी नभएको भन्दै निवेदन लिन नमानेपछि टाढा टाढाबाट आएका युवा अलमल परेका थिए । सरकारले बिदामा आएका श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गरे पनि गन्तव्य मुलुकले हवाइ सेवा सुरु गरेका छैनन् । सरकारले पछिल्लो पटक निर्णय गरेर अन्तर्राष्ट्रिय उडान साउन ७ गतेसम्म बन्द गर्न थप निर्णय गरेको छ । सरकारले श्रम स्वीकृति दिएपनि उडान नियमित नभएसम्म पुन श्रम स्वीकृति दिएका युवा विदेश जान सहज भने हुने छैन ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय