हिमाल दैनिक
नेपाल उद्योग वाणिज्य महासंघले महासंघको ५४ औँ वार्षिक साधारण सभा लगायतका समसामायिक बिषयमा छलफल गर्न आज अर्थात साउन ८ गते बिहीवार पदाधिकारी बैठक बोलाएको छ । बिहीबावार बस्ने महासंघको पदाधिकारी बैठकले साउन २६ र २७ गतेका लागि बोलाइएको वार्षिक साधारण सभा स्थगित गर्ने प्रबल सम्भावना रहेको महासंघका उच्च अधिकारीहरुले लोकपथलाई जानकारी दिएका छन् । उनले लोकपथसँग कुरा गर्दै भने, सरकारभन्दा महासंघ ठूलो होइन, तसर्थ सरकारले जे निर्देशन दिन्छ, सोही अनुसार अघि बढ्ने निर्णय महासंघले गर्नुपर्छ । महासंघ सरकारको खिलापमा जान सक्दैन । सरकारले लकडाउन खुला गरेपनि सामूहिक भोज पार्टी, सेमिनार तथा सामूहिक भेला गर्न रोक लगाइरहेको अवस्था रहेकाले साउन २६ र २७ गते महासंघको साधारण सभा संचालन गर्न नसकिने अवस्था रहेकाले निर्वाचनको साधारण सभा स्थगित गर्न लागिएको ती अधिकारीले बताए । महासंघले आज साधारण सभा स्थगित गरेमा अर्को सूचना जारी भएको ३० औँ दिनपछि मात्र साधारण सभा आयोजना हुनेछ । महासंघको विधान अनुसार साधारण सभा गर्नुभन्दा कम्तिमा ३० दिन अगावै सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ । यसअघि महासंघले विधान अनुसार गत चैत २८ र २९ गते साधारण सभा गर्ने तय गरेको थियो । तर, सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामको लागि चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि महासंघको चुनाव सरेको थियो । सरकारले असार १ गतेदेखि क्रमशः लकडाउन खुकुलो बनाउँदै लगेपछि महासंघले साउन २६ र २७ गतेका लागि ५४ औँ वार्षिक साधारण सभा बोलाएको थियो।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update