हिमाल दैनिक
भदौ २४ मा सकिँदै निषेधाज्ञा, २५ गते नै कर तिर्न सरकारको ताकेता, नतिरे ‘पेनाल्टी’
ird
काठमाडौं । निषेधाज्ञा सकिएको भोलिपल्टबाटै कर तिर्न सरकारले करदातालाई दबाब दिएको छ । भदौ २५ गतेभित्र तिर्नुपर्ने कर नतिरे करदातालाई कानूनअनुसार जरिवानासमेत लाग्ने आन्तरिक राजस्व विभागले प्रस्ट्याएको छ ।
विभागका अनुसार २४ गते रातिबाट निषेधाज्ञा सकिने र २५ गतेसम्म सरकारलाई बुझाउनुपर्ने अन्तशुल्क, आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउनुपर्ने छ । विभागका महानिर्देशक विनोद कुँवरले अहिले लकडाउन नरहेकाले करदाताले अनिवार्य रुपमा कर तिर्नुपर्ने बताए । ‘करदाताले आफ्नो आम्दानीको विवरण अनलाइनबाट बुझाउन सक्छन्,’ उनले भने, ‘आम्दानी गरेको भए कर तिर्नुपर्छ नगरेको भए परेन ।’ करदाताले आम्दानी गरेका छन् कि छैनन भन्ने कुरा उनीहरुले भनेको विवरणबाट देखिने विभागको भनाइ छ । आम्दानी गरेका करदाताले अनलाइनबाट भुक्तानी समेत गर्न सक्ने उनको भनाइ छ । ‘आम्दानी नगरेकाले के को कर बुझाउनु । जसले आम्दानी गरेको छ, उसले अनलाइनबाट भुक्तानी गर्दा भइहाल्छ,’ उनले भने, ‘विवरण बुझाउँदा सबै कुरा उल्लेख हुने भएकाले सोही अनुसार विभागलाई जानकारी प्राप्त हुन्छ ।’ व्यवसायीले निषेधाज्ञाकाबीच कर बुझाउन नसकिने बताएका छन् । साउनमा गरेको कारोबारको भ्याट भदौ २५ भित्र बुझाउनुपर्ने  प्रावधान छ । ‘तर, व्यवसायीहरुले भ्याट बिल काटेर सामान दिए पनि त्यो पैसा उठेको छैन्,’ एक व्यापारीले भने, ‘सरकारले त भ्याट बिल काट्ने बित्तिकै पैसा आइहाल्यो भन्ने बुझ्छ । तर, हामीलाई सामान लैजाने पाटीले १० दिन पछि मात्रै पैसा ल्याएर दिन्छ ।’ उनका अनुसार जुन बेला पाटीबाट पैसा आउथ्यो, त्यो बेला सरकारले निषेधाज्ञा जारी गर्यो । त्यसपछि सामान लगेका कुनै पनि व्यापारीले पैसा दिएका छैनन्, यस्तो अवस्थाम कसरी कर तिर्नू ? ‘सरकारलाई विवरण बुझाउँदा भ्याट बिल काटिएपछि आम्दानी भएको विवरण बुझाउनुपर्छ । तर, वास्तविक रुपमा पैसा आइसकेको हुँदैन्,’ ती व्यापारीले भने, ‘यस्तो बेला सरकारले स्वेछिक गर्नुपर्छ ।’ विभागका अनुसार सरकारले निर्णय नगरेसम्म हामीले कर बुझाउने समय लम्ब्याउन सकिँदैन । अहिलेसम्म अर्थ मन्त्रालयबाट निर्देशन नआएकाले समयसमीमा भित्र कर तिर्न निर्देशन दिएको छ । अदालतले लकडाउनभरी कर नउठाउन आदेश जारी गरेकाले सरकारले त्यसलाई पालना गरेको तर, अहिले लकडाउन नै नभएको विभागको बुझाइ छ । विभागलेका अनुसार मूल्य अभिवृद्धि कर ऐन ०५२ बमोजिम साउन महिनाको मासिक कर विवरण, अन्तःशुल्क ऐन ०५८ बमोजिम बुझाउनुपर्ने विवरण तथा त्यसबमोजिमको अन्तल्शुल्क, आयकर ऐन ०५८ बमोजिम बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा त्यसबमोजिमको कर दाखिला गर्नुपर्ने छ ।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update