हिमाल दैनिक
सामूहिक लगानी कोष नियमावली संशोधन
sebon_9_9_2020_6_41_05
काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सामूहिक लगानी कोषको संशोधित नियमावली २०७७ कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयले स्वीकृत गरेको नियमावली बोर्डले भदौ २४ देखि लागू गरेको हो । संशोधन मार्फत योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पुनःखरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाको आयमा लेखाकंन गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि उक्त आयको लेखाकंन योजना व्यवस्थापकले गर्ने गरेका थिए ।
विद्यमान व्यवस्थाले इकाइधनी (लगानीकर्ता) को कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्नेछ । त्यस्तै, उक्त नियमावलीको नियम ४० को उपनियम (४) मा योजना व्यवस्थापक र योजनाको लेखा परीक्षकको नियुक्ति गर्दा धितोपत्र बोर्डलाई जानकारी दिएर नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि बोर्डबाट स्वीकृति लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो । उक्त व्यवस्था लागू भएसँगै खुलामुखी सामूहिक लगानी योजनाको आयमा वृद्धि भई लगानीकर्ताहरुको हित हुने बोर्डको अपेक्षा रहेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update