संघीय सरकारको पहलमा सैनामैना नगरपालिका– ७ लम्टैयामा बनाउन लागिएको सैनामैना औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भएको छ ।
डीपीआर निर्माणको काम सम्पन्न भएसँगै अब औद्योगिक ग्राम निर्माणको काम तीव्र रुपमा हुने सैनामैना नगरपालिकाले जनाएको छ ।
आगामी पाँच वर्षभित्रमा पूरा गर्नुपर्ने औद्योगिक ग्राम निर्माणका लागि गत वर्ष संघीय सरकारले पठाएको ९२ लाख रुपैयाँले प्लट सम्याउने, औद्योगिक ग्रामको जग्गा सम्याउने, माटो फिलिङ, तार जाली लगाउने, औद्योगिक ग्राम निर्माण क्षेत्रमा खोला र डाँडो जग्गा रहेकोले त्यसलाई सम्याउने र कम्पाउण्ड वाल निर्माणको काम समेत भइरहेको छ ।
सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले डीपीआर बनाउने काम एक वर्षभित्रमा सम्पन्न भएको र अब निर्माणका काम सुरु हुने बताए ।
उनले गत वर्षदेखि निर्माणको काम सुरु भएको बताउँदै अब संघीय सरकारले बजेट पठाएपछि निर्माणको कामले गति लिने बताए ।
औद्योगिक ग्राम निर्माणस्थल सैनामैना नगरपालिका ७ का वडा अध्यक्ष डिलाराम बेलबासेले ३२ विगाहा क्षेत्रमा औद्योगिक ग्राम निर्माणको काम भइरहेको जानकारी दिए ।
उनले औद्योगिक ग्रामको पूर्वाधार तयार नहुँदै २० जना उद्योगीले उद्योग स्थापनाका लागि जग्गाको माग गरिसकेको बताए । सरकारले चालू आर्थिक वर्षका लागि बजेट पठाएपछि खानेपानी, विद्युत र थप पूर्वाधार पु¥याउने काम सुरु हुने बताइएको छ ।
वडाध्यक्ष बेलबासेले औद्योगिक ग्राम किनारमा इङगुरिया र बनरहवा खोला मिसिएर बगेकोले पनि औद्योगिक ग्राम स्थापनाका लागि सो स्थान राम्रो रहेको भन्दै लकडाउनका कारण निर्माणको काममा ढिलाई भएको बताए ।
उद्योग स्थापना गर्न चाहने उद्योगीहरुलाई उनीहरुको माग अनुसारको जग्गा दिन प्लट छुट्याउने काम भने यो वर्ष नहुने भएको छ ।
सैनामैना नगरपालिकाले त्यसका लागि छुट्टै कानुन र नियमावली बनाएर मात्र उद्योगीहरुलाई जग्गा उपलव्ध गराउने बताएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय