हिमाल दैनिक
राजपरिवारसहित आरोहण टोलीको खुम्बु आउने कार्यक्रम प्रभावित
1600239942-t0Kdu
मौसम प्रतिकूल बन्दा बहराइनी राजपरिवारसहितको टोली खुम्बु आउने कार्यक्रम प्रभावित भएको छ । हिमाल आरोहणका लागि राजपरिवारसहितको टोली आज  विमानमार्फत लुक्ला आउने कार्यक्रम रहे पनि उडान हुन नसक्दा काठमाडौँमा नै रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय लुक्लाले जनाएको छ ।
समिट एयरमार्फत राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली लुक्ला आउने कार्यक्रम तय भए पनि मौसम प्रतिकूल हुँदा तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा आज कुनै उडान नभएको कार्यालयले जनाएको छ ।
खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजकुमार गत बुधबार नेपाल आउनुभएको थियो । राजकुमारको टोली शेख इशा एअरवेजबाट विशेष विमानमार्फत गत बुधबार काठमाडौँ आएको थियो ।
टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ बहराइनी र तीन  बेलायती  रहेको बताइएको छ । विश्वव्यापी कोरोना महामारीका बीच लामो समयपछि मङ्गलबार दुई जर्मनेली खुम्बु भित्रिएका छन् । उनीहरु काठमाडौँबाट पिसिआर परिक्षण गराएर विमानमार्फत खुम्बु आएको गाउँपालिकाले जनाएको छ । लामो समयपछि खुम्बु आएका विदेशी पर्यटकलाई खुम्बुबासीले स्वागत गरेका थिए । कोरोना महामारीका कारण पर्यटन क्षेत्रसमेत बन्द गरिएपछि थलिएको खुम्बु क्षेत्रको व्यवसाय फस्टाउने आशा जागेको व्यवसायीको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update