हिमाल दैनिक
इन्धनको मूल्यबृद्धि विरुद्ध नेविसंघद्वारा आयल निगम घेराउ
NSU protest against price hike
कोरोना त्रासमा जारी लकडाउन आदेशको समयमा पनि सरकारले पटक पटक गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले आयल निगम अगाडी प्रदर्शन गरेको छ। लकडाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समेत धौधौ भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले काठमाडौंको बबरमहलस्थीत नेपाल आयाल निगमको मुख्यालय अगाडी आइतबार धर्नासहित विरोध प्रदर्शन गरेको हो। दैनिक ज्यालामजदूरी गरेर खाने आम जनताको अवस्था भयावह हुँदै गएको अवस्थामा सरकारले जनतालाई अभिभावकीय भूमिका निर्वाह गर्दै राहत दिनुको सट्टा त्यहि मारकाबीचमा पटक पटक इन्धनको मूल्यबृद्धि गर्दै बजारभाउ बढाउन र महँगीले जनताको ढाड सेक्न थालेपछि यसको विरुद्धमा आफूहरु सडकमा उत्रिनुपरेको नेविसंघले जनाएको छ। नेविसंघका महामन्त्री मनोज बैद्यले सरकारले अहिलेको अवस्थामा नियोजित ढंगले जनतालाई दुःख दिने गरी मूल्यवृद्धि गरेपछि आफूहरु त्यसको विरोेधमा कोरोना महामारीकाबीच सामाजिक दुरी कायम गर्दै सडकमा आउन बाध्य भएको बताए। प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘जनता मार्न पाईदैन’, ‘हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौँ’, ‘सरकारको पाराले दुःख पाए साराले’ लगाएतका नारा लगाएका थिए। यसअघि नेविसंघले मूल्यबृद्धिको विरोधमा निगममा ज्ञापन पत्र बुझाएको थियो।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update