कोरोना भाइरसको महामारीले छोप्दै गएको बेलामा बिना योजना लकडाउन (बन्दाबन्दी) आदेश फिर्ता लिएको सरकारसमक्ष आगामी दिनमा आउन सक्ने चुनौतीको सामना गर्न तत्काल नयाँ र विशेष रणनीति तयार गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ।
सरकारले कुनै योजना र तयारीबिना नै मंगलबार रातीदेखि लकडाउन आदेश हटाएपछि बिहिबार बिहान प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्दै विशेष ध्यानाकर्षण गराएका हुन्।
सभापति देउवाले १२० दिन लामो लकडाउन आदेश खुला भएपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रधानमन्त्री ओलीसँग कोरोना भाइरसको संक्रमणसँगै देशमा पछिल्लो समय आएको बाढी पहिरोबाट भएको धनजनको क्षतिबारे विशेष ध्यानाकर्षण गराएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताएका छन्।
प्रधानमन्त्री ओलीसँग देउवाको भेटवार्ताबारे विज्ञप्ति जारी गर्दै पौडेलले दिएको जानकारी अनुसार, लकडाउनका बाबजूद संक्रमितको संख्या २० हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको स्थितिमा लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि सभापति देउवाले आग्रह र माग गरेका थिए।
साथै देउवाले कोरोना संक्रमणको परिक्षण विश्वसनीय बनाउन पीसिआर प्रविधिबाट मात्रै गर्न आग्रह गर्दै क्वारेन्टाइनहरु अझैपनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरेका थिए।
यसैैगरी देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दार गर्ने कार्यमा तिब्रता दिन पनि सरकारसँग माग गरेका छन्।
प्रधानमन्त्रीसँगको भेटका क्रममा देउवाले बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कैँयौँको मृत्यु, कैयौँ वेपत्ता र सयौँ घरबार बिहिन भएको बताउँदै सरकारले तत्काल प्रभावकारी ढंगले युद्धस्तरमा उद्दार, राहत र पुनस्र्थापनाका लागि कार्य गर्न पनि आग्रह गरेका थिए।
यसका अतिरिक्त सभापति देउवाले कोरोनो श्रृजित चुनौतीहरुका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरुले अघि सारेका जायज मागहरुलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए।
सरकारले विना तयारी लकडाउन आदेश फिर्ता लिएपछि कतिपय जनस्वास्थ्यविदहरुले सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै यसले समाजमा भयावह स्थिति ल्याउन सक्ने खतराबारे सचेत रहन आग्रह गर्दै आएका छन्।
प्रेस बिज्ञप्ति
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय