काठमाडौं- वीरगञ्जमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण भएको पाइएको छ। नारायणी अस्पतलामा मृत्यु भएका एक र घरमा नै मृत्यु भएका भएका अर्का एक व्यक्तिको मृत्युपछि कोरोना संक्रमित भएको रिपोर्ट आएको हो। उनीहरू दुवै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले वीरगञ्जमा दुई कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे। 'वीरगञ्जमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू दुवै जना वीरगञ्ज महानगरकै बासिन्दा हुन्,' अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा उपाध्यायले भने, 'उनीहरुको रिपोर्ट बिहीबार साँझमा आएको हो।'
मृत्यु हुनेमध्ये एक जना वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा स्थायी ठेगाना भएका ३५ वर्ष पुरुष छन्। उनलाई ५ गतेदेखि बिरामी ज्वरोको लक्षण देखिएको थियो। उनलाई स्थानीय विभिन्न अस्पतलामा उपचार गरिएको थियो। तर ठीक नभएपछि उनी साउन १३ गते नारायणी अस्थायी कोभिड अस्पताल भर्ना भएका थिए। उनको साउन १५ गते साँझ साढे ७ तिर मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
यस्तैगरी, वीरगञ्ज महानगरपालिकास्थित छपकैया टोलका अर्का एक मृतकमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ज्वरोको लक्षण देखिएका ६५ वर्षीय ती पुरुष अस्पताल भर्ना भएका भने थिएनन्। उनको घरमा नै मृत्यु भएको र मृत्युपछि गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उनको मृत्यु भएफछि प्रहरीले अस्पतालमा खबर गरेको थियो।
पछिल्लो पटक वीरगञ्जमा दुई संक्रमितको मृत्यु भएसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५४ पुगेको छ। यसअघि बिहीबार दिउँसो सवा ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा पर्साका दुई जनाको मृत्यु भएको जानकारी दिएको थियो।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय