हिमाल दैनिक
सांसद प्रदीप यादवसहित डाक्टर र सुरक्षाकर्मी गरि पर्सामा थप ६४ जनामा कोरोना पुष्टि
Parsha
वीरगन्ज: पर्सामा शुक्रबार थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सा निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद प्रदीप यादव, उनका निजी सुरक्षाकर्मी र चालकलगायत छन्। नारायणी अस्पतालले शुक्रबार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार नारायणी अस्पतालकै एक डाक्टरमा पनि संक्रमण पुष्टि भएको छ। यस्तै, एक जना पारामेडिक स्टाफलाई पनि संक्रमण पुष्टि भएको छ। सांसद यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए । सांसद यादवका अंगरक्षक र चालकमा पानि कोरोना संक्रमण देखिएको छ । सांसद यादवले आफूलाई कोरोना संक्रमण भएको आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका छन् । शुक्रबार राति उनले लेखेका छन्, ‘पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई आइसोलेट गरेर आराममा छु ।’ संक्रमितमध्ये ३ महिला र ६१ पुरूष छन्। संक्रमित १५ देखि ६८ वर्ष उमेर समूहका छन्। यसअघि बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो। पछिल्लो समय पर्सामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पर्सामा पछिल्लो दुई दिनमा मात्र ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update