इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चालिस सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही साउन १३ गते उनीहरुको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो ।
यसअघि १० सशस्त्र प्रहरीमा नै कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । हालसम्मका सशस्त्र प्रहरीका २७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । इलाम नगरपालिकाका ८९ जनाको स्वाब सङ्कलन गरेर पठाइएको छ । जिल्लाभरिमा १६० को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति विमल बरालले बताउनुभयो ।
बाँकी सशस्त्र प्रहरीको स्वाब सङ्कलनको तयारी भइरहेको बताइएको छ । आज पोजेटिभ देखिएका सबैलाई थप उपचारका लागि मोरङस्थित गोठगाउँमा लैजाने तयारी भइरहेको छ । यसअघि सङ्क्रमण फेला परेकाहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । योसँगै इलाममा कोरोना पुष्टि हुनेको सङ्ख्या ५७ पुगेको छ । रासस
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय