हिमाल दैनिक
कोरोनाले कार्यालय सञ्चालन गर्न सकस
biratnagar-mahanagarpalika
विराटनगरमा कोरोना सङ्क्रमणको जोखिमले सरकारी सेवाप्रदत्त कार्यालय प्रभावित बन्न पुगेको छ । अहिले कार्यालय प्रमुखलाई कार्यालय सञ्चालन गर्न सकस भइरहेको छ । यहाँका केही सरकारी कार्यालयका कर्मचारीलाई कोरोना पुष्टि भएको छ । यसपछि कार्यालय सञ्चालन गर्न समस्या भइरहेको कार्यालय प्रमुखहरु बताउँछन् । नापी र मालपोत कार्यालय ७२ घण्टाका लागि बन्द गरिएको छ । नापी शाखाका दुईजना कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई उपचारका लागि मोरङको गोठगाउँस्थित क्वारेन्टिनमा लगिएको छ । ४० जना कर्मचारी रहेको नापी शाखामा सोमबार २० जनाको स्वाब परीक्षणमा पठाइएको छ र आज थप २० जनाको स्वाब लिने तयारी भइरहेको कार्यालय प्रमुख दामोदर वाग्लेले जानकारी दिए । निकै भीडभाड हुने र कार्यालयकै कर्मचारीमा कोरोना देखिएपछि कार्यालायमा स्टेलाइजर गर्नुुपर्ने र यसका लागि जनस्वास्थ्य कार्यालय, महानगपालिका वा अन्य सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्नेमा उनले बताए । डिभिजन वन कार्यालयका प्रमुख विशाल घिमिरेले कर्मचारीलाई विशेष सावधानी अपनाउन र आफ्ना निजी सवारी साधन नभएका कर्मचारीलाई कार्यालय नआई घरबाटै सेवामा जुट्न निर्देशन दिएको बताए । कोरोना सङ्क्रमित एक वृद्धाको उपचारका क्रममा सोमबार मृत्यु भएको छ । स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर–५ का मधुमेह र उच्च रक्तचापबाट पीडित ७७ वर्षीय वृद्धको कोशी अस्पताल आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको कोभिड–१९ सङ्क्रमणको रिपोर्ट आउनुअघि मृत्यु भएको प्रमुख बस्नेतले बताए । मोरङमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यहाँ सङ्क्रमितको सङ्ख्या १४२ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update