हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोरोना महामारीको समयमा पनि स्वास्थय सामाग्री खरिद प्रक्रियामा भएको अनियमितता र भ्रष्टाचारको ढाकछोप नगरी तत्काल छानविन र कारबाहीको माग गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलबार स्वास्थ्यविदहरुसहितको बैठकमा छलफलका लागि बोलाएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गएका प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री देउवाले ७ बुँदे सुझाव दिँदै छानविन र कारबाहीको माग गरेका हुन्। प्रधानमन्त्री ओलीसँगको बैठकपछि कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, सभापति देउवाले आफ्नो पार्टीले विगतदेखि नै अघि सारेका माग तथा परिवर्तित परिस्थितिमा सरकारले संक्रमण नियन्त्रण र रोकथामका लागि युद्धस्तरमा कार्य गर्न सरकारको ध्यानाकर्षण पनि गराए। https://youtu.be/6caEGsYmhLU देउवाले विश्व स्वास्थ्य संगठनले समेत अविश्वसनीय भनिसकेको आरडीटी परिक्षण स्थायी रुपमा अन्त्य गरी सबै परिक्षण पीसिआर विधिबाट गर्दै प्रत्येक प्रदेशमा एक लाख नयाँ परिक्षण तत्काल प्रारम्भ गर्ने व्यवस्था मिलाउन माग गरेका थिए। त्यसैगरी स्वास्थ्य सामाग्रीको पर्याप्त प्रबन्ध मिलाउनेदेखि अत्यावश्यक पर्ने औषधी लगायतका सामाग्रीको आयात तथा आइसोलेशन वार्डको संख्या र गम्भीर प्रकृतिका विरामीका लागि भेन्टिलेटरको व्यवस्था मिलाउन पनि माग गरेका थिए। यसैगरी उनले मापदण्ड अनुरुपको क्वारेन्टाइनको व्यवस्थापनदेखि विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्धार गरी उनीहरुलाई क्वारेन्टाइन र परिक्षण पश्चात मात्रै घर जाने व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकषण गराएका छन्। यसका अतिरिक्त देउवाले नेपालीको उद्दार गर्नुपर्ने अवस्थामा बाहेक सीमानाको आवागमनमा पूर्ण रुपले नाका बन्द गर्न तथा नागरिकको सुरक्षाका लागि मास्क अनिवार्य लगाउन जनचेतनामूलक अभियान संचारमाध्यमबाट गराउन पनि सुझाव दिएका छन्। यसैगरी देउवाले परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न बिज्ञहरुसंग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता देखाउन पनि सरकारसँग माग गरेका छन्। आफ्नो सुझावको चौथो बुँदामा देउवाले विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गर्न पनि प्रधानमन्त्रीलाई सुझाएका छन्। सुझावको पाँचौँ बुँदामा देउवाले उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन तथा विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गर्न पनि माग गरेका छन्। आफ्नो सुझावको अन्तिम बुँदामा देउवाले बर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गर्न पनि माग गरेका छन्।
प्रेस बिज्ञप्ति:
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update