राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको ३४ जना स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि आजदेखि अस्पतालको सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले सात जना स्वास्थ्यकर्मी आइसोलेशनमा र चार चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा भर्ना भएका कारण गजेन्द्रनारायण सिंह अस्पतालको सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको जानकारी दिए ।
स्वास्थ्यकर्मी सङ्क्रमित हुँदै जाने र अर्कोतिर आकस्मिक कक्ष, बहिरङ र अन्तरङ र प्रसूति सेवाका साथै आइसोलेशनमा पनि स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने स्थितिका कारण जनशक्तिको चरम अभाव भएकाले अस्पतालको सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको उनले बताए । सात दिनमा सात जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएको र उनीहरुको सम्पर्कमा आएका चार चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्दा अहिले अस्पतालमा जनशक्तिको चरम अभाव भई स्वास्थ्य सेवा प्रभावित भएको डा झाको भनाइ छ ।
मेडिकल सुपरिटेन्डेन झाका अनुसार एनेस्थेटिस्टका डाक्टरसमेत क्वारेन्टाइनमा रहेका कारण प्रसूतिमा पनि शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालमा बाँकी रहेका पाँच जना चिकित्सक र चार जना स्वास्थ्यकर्मी गरी नौ जनाको भरमा अस्पताल सञ्चालन गर्न कठिनाइ भएकाले अहिले तत्काल सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको उनले जानकारी दिए ।
यता सप्तरीमा दैनिक सङ्क्रमित फेला पर्दै गएपछि स्थानीय प्रशासनले जिल्लाभर साउन २६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । साउन २० गतेदेखि स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञाको कारण बजार सुनसान देखिएको छ ।
यसैबीच सप्तरीमा आज एकै दिन पाँच स्वास्थ्यकर्मीसहित १८ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । योसँगै सप्तरी जिल्लामा सङ्क्रमितको सङ्ख्या ५५७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कोरोना सङ्क्रमणका कारण सप्तरीमा दुई जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय