
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मंगलबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाउँदैछन् । श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । जन्माष्टमीका दिन पाटनको मंलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण मेला भने लागेन ।
https://youtu.be/c8ZH_wkkxOo
भक्तजनहरुलाई पूजाआजाका लागि मन्दिरबाहिरैबाट व्यवस्था गरिएको थियो । स्थानीय जनप्रतिनिधि, पुजारी, मंगल टोल सुधार संघ, प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला व्यक्तिहरु बसेको बैठकले पाटन कृष्ण मन्दिर बन्द गर्ने निर्णय गरेको थियो ।
अन्याय र राक्षसी प्रवृत्तिबाट मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा जन्मिनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको कथन छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय