हिमाल दैनिक
गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिकामा कोरोना भाइरस समुदायमा फैलिएको आशंका गर्दै महानगरपालिकाले एक हप्ताका लागि कडा निषेधाज्ञा जारी गर्न स्थानीय प्रशासन र माथिल्लो निकायलाई पत्राचार गरेको छ। देशभरी फैलिँदै गएको महामारीले पोखरा महानगरपालिकाभित्रका विभिन्न स्थानमा ट्राभल हिष्ट्री नभएका मानिसहरुमा समेत संक्रमण फैलिएको भेटाएपछि महानगरपालिकाले आइतबार कास्की जिल्ला प्रशासन कार्यालय र गण्डकी प्रदेश सरकारलाई तत्काल निषेधाज्ञा जारी गर्न सिफारिस गरेको हो। महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आइतबार आफ्नो कार्यालयमा सर्वपक्षिय छलफल र परामर्श गरेपछि प्रदेशको राजधानी समेत रहेको पोखरामा कम्तीमा एक साताका लागि निषेधाज्ञा जारी गर्न आजै पत्राचार गरेको जानकारी स्थानीय पत्रकारहरुलाई दिएका छन्। यसका साथै महानगरपालिकाले पोखरा प्रवेश गर्ने सबै नाकाहरु पनि उक्त अवधिमा सिल गर्न अनुरोध गरेका छन्। महानगरपालिकाको सिफारिसबारे सोमबार बस्ने कोरोना व्यवस्थापन समितिले निर्णय गरी सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको छ। उनले कोरोना भाइरसको संक्रमण समुदायमा फैलिइसकेको अवस्थामा यसले ल्याउन सक्ने भयावह स्थितिलाई ध्यानमा राख्दै सम्पूर्ण नगरवासीलाई आफैँ सचेत रहन र संक्रमणबाट बच्न आग्रह पनि गरेका छन्। आइतबार मात्रै पोखरामा २२ जना नयाँ संक्रमितहरुको संख्या बढेको थियो। यसैबीच पोखरामा रहेका बैंकिङ कार्यालयहरुमा कार्यरत कर्मचारीमा पनि संक्रमण लागेको समाचार आएपछि पनि बैंकिङ कार्यालयहरुले यसका लागि खासै सावधानी नअपनाउँदा सेवाग्राहीमा पनि संक्रमण फैलिन सक्ने त्रास रहेको स्थानीयवासीको गुनासो छ। अहिलेसम्म गण्डकी प्रदेशमा ५ जना संक्रमितको कोरोना भाइरसको कारण ज्यान गइसकेको छ।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update