देशका तीन वटा प्रदेशमा कोरोनाका निको हुने भन्दा सक्रिय संक्रमितको संख्या धेरै देखिएको छ। स्वास्थ्य मन्त्रालयले १० भदौमा सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश–१, प्रदेश–२ र बागमति प्रदेशमा कोरोनाबाट निको भएका व्यक्ति भन्दा सक्रिय संक्रमित धेरै देखिएका हुन्।
बुधबारसम्मको तथ्यांक अनुसार प्रदेश–२ मा सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै ५५५६ छ, भने निको हुने व्यक्तिको संख्या ४३१५ छ।
वागमति प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४५३८ र निको हुने व्यक्तिको संख्या ९१९ मात्र छ। यस्तै प्रदेश–१ मा कोरोनाका सक्रिय संक्रमितको संख्या १५८३ र निको भएका व्यक्तिको संख्या १३५६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयको बुधवारसम्मको तथ्यांक अनुसार मुलुकभर कोरोना सक्रिय संक्रमितको संख्या १४ ७३९ र निको हुनेहरुको संख्या १९ ५०४ पुगेको छ।
पछिल्ला दिनहरूमा मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढीरहेको छ भने निको हुने दर घट्दो छ। १ भदौसम्ममा दुई वटा प्रदेशमा मात्र कोरोनाबाट निको हुने व्यक्तिको संख्या भन्दा सक्रिय संक्रमितको संख्या धेरै थियो।
त्यसबेलासम्म प्रदेश–२ र बागमति प्रदेशमा कोरोनाबाट निको हुने भन्दा सक्रिय संक्रमितको संख्या धेरै थियो। १ भदौसम्ममा प्रदेश–२ मा कोरोनाका सक्रिय संक्रमित ४०३७ र निको हुने ३७१० जना थिए।
यस्तै, बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या २३२९ र निको हुने व्यक्तिको संख्या ७०२ थियो। त्यसबेलासम्म मुलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या ९६३९ र निको हुनेको संख्या १७ ४९५ थियो।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय