हिमाल दैनिक
वीरगन्ज : वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शनिबार राति गरिएको ४४२ जनाको स्वाब परीक्षणमा ७९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए। नयाँ थपिएका संक्रमितमध्ये पर्साका ४७ जना रहेका छन्। यस्तै, बाँकी बाराका ३०, मोरङका र काठमाडौंका एक एक जना रहेको प्रवक्ता चौरसियाले जानकारी दिए। संक्रमितहरु ६ महिनाको बच्चादेखि ९७ वर्ष उमेर समहूका छन्। दुईजनाको भने उमेर खुलाइएको छैन। संक्रमितहरु पर्साको पोखरिया, वीरगञ्ज महानगरका र बाराको विश्रामपुर, महागढीमाई, जितपुर र कलैया नगरपालिका लगायतको क्षेत्रका रहेको नारायणी अस्पतालले जनाएको छ। पर्सामा दुई हजारभन्दा बढी संक्रमित नयाँ थपिएका संक्रमितसहित पर्सामा अहिलेसम्म कुल संक्रमित संख्या दुई हजार ११३ पुगेको छ। जसमा एक हजार ६५० पुरुष र ४६३ जना महिला रहेका छन्। जसमध्ये २४ जना भारतीय, १३२ जना स्वास्थ्यकर्मी, ९० सुरक्षाकर्मी, १३ जना पत्रकार, १०७ जना कैदी तथा थुनुवा, ४९ जना अस्पतालका सफाइकर्मी, गार्ड, कार्यालय सहायक र तीन जना एम्बुलेन्स चालक रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। पर्सामा कोरोना मुक्त भई घर फर्कनेको संख्या ७९२ पुगेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालय पर्साले भने शनिबार अबेरसम्म कुल ६४७ जना मात्र कोरोना जितेर डिस्चार्ज भएको जनाएको छ। यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या भने पर्सामा ३६ जना भइसकेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले जानकारी दिए।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update