पोखरामा कोरोनाको संक्रमण बढ्दै गएपछि आज तीन वडा एक हप्ताका लागि सिल गरिएको छ। पछिल्लो समय पोखरामा कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएपछि वडा नं १०, १२ तथा १३ सिल गरिएको हो।
पोखरा १०,१२ र १३ वडाका वडाध्यक्षहरुले आज संयुक्त बिज्ञप्ति निकाल्दै आज राति १२पोखरा बजेबाट लागू हुने गरी भदौ २६ गतेसम्मका लागि सिल गर्ने जानकारी दिएका हुन्। संक्रमणलाई नियन्त्रणमा राख्न भन्दै तीन वडा अध्यक्षहरुले आज छलफल गरेर उक्त निर्णय गरेको वडा नं १० का वडा अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए।
उनका अनुसार पोखरा स्वर्णिम टोल, अन्नपूर्ण टोल, लालीगुरासँ टोल, भद्रकाली हुँदै ढिकालेथर, कुँडहरचोक हुँदै मियापाटनसम्म र लालीगुरासँ मिनीमार्ग, प्रगती टोल, विपी मार्ग ‘क’ र ‘ख’ सबै हुँदै भद्रकाली ‘ख’ टोल विकास क्षेत्र, माछापोखरीदेखि संगम टोल, मियापाटन, अन्नपूर्ण टोल हुँदै बेसलाइन स्कुल क्षेत्रका सबै क्षेत्र सिल हुनेछ ।
सिल गरिएको उक्त क्षेत्रभित्र खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म खोल्न पाइनेछ। त्यस्तै स्वास्थ्य जन्य सेवा, एम्बुलेन्स सेवा र अति आवश्यक क्रियाकलापमा भने कुनै रोक नलगाइने बताइएको छ। तर उक्त सेवा सञ्चालन गर्दा सेनिटाइजरको नियमित प्रयोग गर्न, मास्कको अनिवार्य प्रयोग तथा भौतिक दुरी कायम गर्न आग्रह गरिएको छ।
पछिल्लो समय पोखरामा कोरोनाको संक्रमण बढ्दै गएको छ। पोखरा महानगरपालिकाले सङ्क्रमण समुदायस्तरमा फैलिने उच्च सम्भावना रहेका भन्दै भदौ ३ गतेबाट एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा थप बढाउने तयारीमा रहेको महानगरपालिका स्थानीयहरुको चौतर्फी बिरोधपछि निषेधाज्ञा भने बढाएन। स्वास्थ्य मन्त्रालयका पछिल्लो विवरण अनुसार कास्की जिल्लामा मात्र ३१५ पुरुष र ११० महिला गरि ४२५ जनामा कोरोना संक्रमण देखिएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय