शंकास्पद मृत्यु भएका ब्यक्तिको कोरोना परिक्षण नगर्ने सरकारको पछिल्लो निर्णय अत्यन्तै गलत भएको बताउँदै नेपाली कांग्रेसले उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
कोरोना संक्रमितको संख्यासँगै मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गइरहेको बेला स्वास्थ्य मन्त्रालयले बुधबार शंकास्पद अवस्थामा मृत्यु भएका व्यक्तिको स्वाव परिक्षण नगर्ने निर्देशनप्रति आपत्ति जनाउँदै कांग्रेसले यति गम्भीर विषयमा गहिरो विश्लेषण र सुझबुझका साथ मात्रै निर्णयमा पुग्न सरकारलाई आग्रह गरेको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा कसैलाई संक्रमण छ र छैन व्यापक परिक्षण गर्नु र उ बाट अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको प्रथम दायित्व भएको बताइएको छ।
‘तर यो अवधिमा कयौंले जीवित छंदै आफ्नो स्थितिबारे पूर्व सूचना पाएनन्, मृत्यु पश्चात् मात्रै कोरोना पुष्टि भएको कयौं विवरण सार्वजनिक भए। मृत्युपछि मात्रै पीसीआर? भनेर भएका आलोचना अन्त्य गर्न सरकारको पछिल्लो निर्णयले एक हदसम्म सघाउला तर, जिम्मेवार राज्यले नागरिकको आलोचनाबाट जोगिने उपायको खोजिमा होइन कोरोनाबाट नागरिकलाई जोगाउने रणनीतिको विकासमा आफुभित्र योग्यता र सक्षमताको खोजी गर्न जरुरी हुन्छ। शंकास्पद मृत्युमा कोरोना परिक्षण नगर्ने निर्णय गरिरहंदा त्यससँग गांसिएका गम्भीर सैद्धान्तिक र ब्यवहारिक प्रश्न नजरअन्दाज नगर्न हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
शर्माले जारी गरेको पाँच बुँदे विज्ञप्तिमा शंकास्पद मृत्यु भएका ब्यक्तिको परिक्षण गरिनु झनै जरुरी भएको बताउँदै आफ्नो परिवारको सदस्यको मृत्यु हुनुको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकार भएको उल्लेख छ।
आफ्नो नागरिकको मृत्युको एकमात्र पनि घटना र कारणलाई शंकास्पद स्थितिमा रहन दिनु जिम्मेवार राज्यको परिचय नभएको बताउँदै राज्यले कुनै पनि बहानामा यो दायित्वबाट पन्छिन नमिल्दैन कांग्रेसको ठहर छ।
जीवित छंदै परिक्षण नगरिदिंदा परिवारले एकातर्फ तनाव भोगिरहने र मृत्यु पश्चात् पनि शंकास्पद स्थिति कायम राखिदिंदा झनै अन्यौल र फरक ढंगको मानसिक तनाव बढेर जानेछ बताउँदै परिक्षणबाट मृतकमा संक्रमण पुष्टि भए निकटस्थहरुको परिक्षण गरेर अरुलाई बचाउने कर्तव्य राज्यले निभाउन पनि माग गरिएको छ।
तर शंकास्पदको परिक्षण नगर्दा त्यो दायित्वबाट राज्य विमुख रहने स्थिति बन्ने बताउँदै पछिल्लो निर्णयले सरकारलाई त्यो दायित्वबाट विमुख रहन जरुर सघाउने छ तर परिवारजनलाई तनावबाट मुक्त हुन किमार्थ सघाउंदैन भनिएको छ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय