हिमाल दैनिक
भ्रष्टाचारमा बाहेक अरु कुरामा चासै नराख्ने सरकारकै कारण जनता फेरि भारत फर्कन बाध्य भएः देउवा
Deuba in virtual meeting
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा कोरोना भाइरस संक्रमण डरलाग्दो किसिमले बढिरहँदा सरकार भने महामारीमा पनि भ्रष्टाचार गर्ने बाहेक देश र जनताको कुनै चिन्ता र चासो नभएको आरोप लगाएका छन्। नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिले सप्ताहव्यापी भर्चुअल कार्यक्रम अन्तर्गत शुक्रबार सुदूरपश्चिम प्रदेशस्तरिय छलफल कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘देशमा डरलाग्दो किसिमले कोरोना संक्रमण बढिरहँदा पनि सरकारलाई केही मतलबै छैन। उसलाई चिन्ता नै छैन।’ सरकारले देशमा यतिको लामो समयसम्म पनि न कुनै ठूलो कोभिड अस्पताल खोलेको न त कुनै संक्रमितको इन्सोरेन्स गरी जनतालाई सहयोग नै गरेको भन्ने आरोप लगाउँदै देउवाले सरकारबाट देशका जनतालाई कुनै आशा र भरोसा नमिलेको बताए। चैत÷वैशाखमा रोजगारी गुमाएपछि हप्तौ पैदल हिँडेर सीमानामा अलपत्र हुँदै सुदूरपश्चिमका गाउँमा फर्किएका सर्वसाधारण जनता पछिल्लो समय रोगले भन्दा भोकले मर्न लागियो भन्दै पुनः भारत फर्किन थालेको स्थितिप्रति सभापति देउवाले गम्भीर चासो व्यक्त गरे। ‘अहिले सुदूरपश्चिमका जनता जो संक्रमण सुरु भएपछि रोजगारी गुमाएर ज्यान जोगाउन स्वदेश फर्किएका थिए, उनीहरुलाई राज्यको उदासिनताका कारण नेपालमा खानै नपाउने अवस्था आएपछि फेरि बाध्य भएर धमाधम भारततर्फ फर्किन थालेका छन्। हुँदाहुँदा गरिब जनताका बालबच्चा र केटाकेटीहरुलाई पनि कुनै सहयोग गरेको छैन। यस्तो अवस्थामा फेरि सुदूरपश्चिमका दाजुभाई दिदिबहिनीहरु भारत जान बाध्य भइरहेका छन्। जहाँ सबैभन्दा बढी कोरोना संक्रमणको महामारी फैलिएको छ त्यही जान बाध्य भइरहेका छन्,’ देउवाले भने। देउवाले जनताको दयनिय अवस्था रहेको बताउँदै यसका बाबजूद सरकारलाई जनताको अवस्थाबारे कुनै चिन्ता नै नभएको र उसलाई यो महामारीमा पनि केबल भ्रष्टाचारमै लिप्त भइरहेको आरोप लगाए। साथै उनले अहिले सरकारले पीसिआर परिक्षणमा पनि बदमासी गरिरहेको जानकारी आफूले पाएको मात्र होइन परिक्षण उपकरण तथा किटमा पनि भ्रष्टाचार भइरहेको बताए। ‘सरकारलाई भ्रष्टाचार गर्ने बाहेक फुर्सदै छैन। देशको लागि र कोरोना संक्रमित विरामीको चिन्ता नै छैन,’ उनले थप्दै भने, ‘अहिले नेपालमा भोकै मर्नु भन्दा कोरोनाबाट मरौला भनेर उतै (भारत) फर्किन थाले।’ उनले जनताप्रति गैरजिम्मेवार सरकार भएपनि आफ्नो गैरजिम्मेवार बन्न नसक्ने बताउँदै जनताप्रतिको जिम्मेवारीकै कारण राज्यको राहत कोषमा सक्दो आर्थिक सहयोग गरेको कांग्रेसले अहिले जनतालाई कोरोना महामारीबाट बच्नका लागि अपनाउनु पर्ने प्राथमिक सतर्कताबारे जनचेतना दिन भर्चुअल माध्यमबाट लागि परेको बताए। साथै उनले प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी कार्यकर्ताहरुले जनतामाझ बारम्बार साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने र मास्क लगाउनेबारे शिक्षामूलक जानकारी दिन निर्देशन दिए। यसैगरी सभापति देउवाले सुदूरपश्चिमका स्थानीय तहहरु जहाँ कांग्रेसका जनप्रतिनिधिहरुले चुनाव जिते त्यहाँ सरकारले छानीछानी बदमास कर्मचारी पठाएर जनप्रतिनिधिलाई काम गर्न नदिएर जनतामाथि अन्याय गरेको आरोप लगाए। सभापति देउवाले सरकारी कर्मचारी भनेको जनताले तिरेको करबाट तलब खाने व्यक्तिहरु भएको बताउँदै उनीहरु जनताप्रति जवाफदेही र उत्तरदायी हुनु पर्ने बताए। आफ्नो पार्टीका जनप्रतिनिधिलाई सरकारी कर्मचारीले अनाहकमा दुःख दिने र असहयोग गरी बदमासी गरेको बताउँदै उनले त्यस्ता कर्मचारीलाई भोलि आफूहरुले कुनै हालतमा नछाड्ने चेतावनी दिए। ‘हामी कुनै हालतमा छोड्ने छैनौँ। जनतालाई साथ दिएनन् र हाम्रा जनप्रतिनिधिले जितेका पालिकामा सहयोग नगरी बद्मासी मात्रै गरे भने कारबाही गरेरै छाड्छौँ। परिआएको खण्डमा आन्दोलन पनि गर्छौँ, अहिले कोभिडको कारणले मात्रै हो,’ देउवाले भने। सुदूरपश्चिमका पालिकामा कांग्रेसका जनप्रतिनिधिले बढी जितेको बताउँदै त्यहाँका जनप्रतिनिधिले जनताको सेवा सुविधाका लागि जिम्मेवार भएर काम गर्न र कर्मचारीले बद्मासी गरेमा उनीहरुको लिष्ट बनाएर राख्न पनि निर्देशन दिए। कार्यक्रममा केन्द्रीय सदस्य एवं केन्द्रीय महिला विभाग प्रमुख ईश्वरी न्यौपानेले सरकारको लाप्रवाहीका कारण देशमा महामारीको स्थिति भयावह हुँदै गएको र सरकार हात, खुट्टा छोडिदिएको अवस्था आएको बताइन्। सरकार लाचार भएपछि जनताले आफ्नो ज्यान आफैले जोगाउने बाहेक जनतासँग विकल्प नभएको अवस्थामा पुर्याएको मात्र होइन जनताको हकहित रक्षा भन्दा उनीहरुको पेटमा लात मार्ने कार्यमा उद्दत भइरहेको आरोप लगाइन्। कांग्रेस केन्द्रीय सदस्य बीरबहादुर बलायरले सरकार आफ्नो दायित्व र जिम्मेवारीबाट च्यूत भएको आरोप लगाउँदै अब जनता खान नपाउने अवस्थामा सडकमा उत्रन पर्ने अवस्था आएको खण्डमा हामीले सामाजिक दूरीको कुरा गरेर बस्न सक्ने अवस्था नरहेको बताए। उनले सरकारले आफ्नो सीमा पार गरिसकेको बताउँदै अब जनताको समस्याबारे गम्भीर नभएको सरकारविरुद्ध जनता सडकमा उत्रन पर्ने अवस्थामा पार्टीले अपिल गर्न परे पनि रणनीतिक तयारी गर्न आवश्यक भएको बताए। अर्का नेता रमेश लेखकले सरकार अहिले पूर्ण रुपले असफल भइसकेको निश्कर्षसहितको पत्र सरकारलाई पार्टीले दिइसकेको बताए। सरकार लकडाउन गर्नेबाहेक अरु केही नगरेको आरोप लगाए। केन्द्रीय सदस्य बद्री पाण्डेले सरकारले केही नगरेको अवस्थामा स्थानीय तहमा आफ्ना जनप्रतिनिधिमार्फत देश र जनताको उद्दार हुनेगरी काम गर्न सुझाव दिए। केन्द्रीय सदस्य एनपी साउदले संचालन गरेको कार्यक्रममा समितिका संयोजक तथा सहमहामन्त्री प्रकाशशरण महतले पनि आफ्नो विचार राखेका थिए।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update